इटहरीः  नेकपा (एमाले) को हाल सम्पन्न ११ औं महाधिवेशनबाट केन्द्रिय सदस्यमा विजयी जगदिश  कुसियतलाई पार्टीले सुनसरी जिल्लाको इन्चार्ज तोकेको छ । पार्टीको पदाधिकारी बैठकले उनी सहित कोशी प्रदेशका १४ जिल्लामै इन्चार्ज तोकेको हो । 

पार्टीले सुनसरीको इन्चार्जको जिम्मेवारी दिइएको कुसियत कोशी प्रदेशका संस्थापक पर्यटन मन्त्री समेत भईसकेका उनी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ र २ बाट उम्मेदवारमा सिफारिस समेत भएका नेता हुन् । पर्यटन तथा वन मन्त्री हुँदा आफ्नो क्षेत्रमा अनावश्यक योजना बनाएर बजेटको ओईरो लगाएर अनियमितता गरेको भन्दै विवादमा समेत उनी तानिएका थिए । 

WhatsApp Image 2025-12-20 at 08.00.59_6bf203aa

पार्टीका अनुसार संगठन सुदृढीकरण र पार्टी गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गरिएको पार्टीले जनाएको छ ।  ऋषिकेश पोखरेललाई मोरङ जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ । पोखरेल पार्टीको ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका नेता हुन् ।

यस्तै, कोशी प्रदेशका अन्य जिल्लाहरूमा पनि विभिन्न नेताहरूलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ । जसअनुसार ताप्लेजुङमा तिलकुमार मेयाङ्बो, पाँचथरमा आइन्द्र सुन्दर नेम्वाङ, इलाममा राम राना र झापामा रोम ओलीलाई जिल्ला इन्चार्ज बनाइएको छ ।

 उदयपुरमा मञ्जु चौधरी, खोटाङमा विशाल भट्टराई, ओखलढुंगामा यज्ञराज सुनुवार र सोलुखुम्बुमा मानवीर राई जिल्ला इन्चार्ज तोकिएका छन् ।

भोजपुरमा हेमराज राई, संखुवासभामा तुलसी न्यौपाने, तेह्रथुममा विष्णुमाया विक र धनकुटामा राजेन्द्र राईलाई जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ ।

पार्टीका अनुसार जिल्ला इन्चार्जहरूले जिल्लास्तरमा पार्टी संगठनको समन्वय, विस्तार र आगामी राजनीतिक तथा निर्वाचनसम्बन्धी गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउने जिम्मेवारी पाउनेछन् ।