ठगीधन्दाको मुख्य योजनाकार ३७ वर्षीय चिनियाँ युवा, उनीसहित ११ पक्राउ

इटहरीः ‘एसएमसी’ नामको मोबाइल एपमार्फत २५५ नेपाली युवाको १२ करोड ठगी भएको भेटिएको छ । यो ठगी ३७ वर्षीय चिनियाँ युवक ही जियाङको नेतृत्वमा भएको पनि खुलेको छ । पर्साकी ६६ वर्षीया सायरा खातुनको नाममा कम्पनी खडा गरी चितवनमा कार्यालय नै खोलेका उनले ‘एसएमसी’ एपको सहकार्य विश्वप्रसिद्ध फिल्म कम्पनी युनिभर्स, वार्नर ब्रोज, डिज्नीलगायतसँग रहेको दाबी गर्दै लगानी गर्दा मनग्य आम्दानी हुने र सदस्य बनाएबापत कमिसन पनि मिल्ने प्रलोभन बाँड्दै ठगी गरेका हुन् । 

ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले जियाङ र सायरासहित ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा रामेछापका २१ वर्षीय मिलन श्रेष्ठ, तनहुँका १९ वर्षीय सौगात थापा, नुवाकोटका ३३ वर्षीय वीरबहादुर तामाङ, चितवनका २३ वर्षीय सोनम खातुन, काठमाडौं टोखाकी २३ वर्षीया मोनिका गुरुङ, धादिङकी २१ वर्षीया गीता गुरुङ, बाराका ६७ वर्षीय रामनिवासप्रसाद कलवार, २३ वर्षीया प्रिया केसी र पर्साका ३७ वर्षीय नासिर मियाँ अन्सारी छन् । साइबर ब्युरोबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई देशका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । 

‘मोबाइल एपमार्फत २५५ युवाको १२ करोड आठ लाख १६ हजार ३७२ रुपैयाँ ठगी गर्ने गिरोहका ११ सदस्यहरू पक्राउ परेका छन् । उनीहरूले संगठित रूपमा नेटवर्क बनाएर युवाबाट रकम असुलेको देखिन्छ । घटनाको अनुसन्धान जारी छ,’ ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले भने । 

एसपी अवस्थीका अनुसार ठगीका मुख्य योजनाकार जियाङ हुन् । उनकै योजनामा पर्साको वीरगन्ज महानगरपालिका– ४ की ६६ वर्षीया सायराको नाममा कम्पनी रजिस्ट्रारको कार्यालयबाट कम्पनी खडा गराएका थिए । युवाहरूलाई विश्वास दिलाउन चितवनको खैरहनी नगरपालिका– ६ मा कार्यालयसमेत खोलेका थिए । सोही कार्यालयमार्फत ‘एसएमसी’ एपमार्फत मनग्य कमाउन सकिने प्रलोभन दिने, सदस्य बनाउने र रकम डिपोजिट गर्न उक्साउने गर्थे । डिपोजिटकर्तालाई सुरुमा कबुल गरेअनुसार कमिसनसहित मुनाफा पनि दिन्थे । जब, कुनै व्यक्तिले ठुलो लगानी गर्थ्यो, त्यसपछि रकम दिन बन्द गरिदिएर ठगी गरेको एसपी अवस्थीले बताए । 

प्रहरीका अनुसार गिरोहले सुरुमा सम्पर्कमा आएका सदस्यलाई मोबाइलमा ‘एसएमसी’ एप डाउनलोड गर्न लगाउँथ्यो । एप इन्स्टलपछि लगअन गर्न सिकाउँथ्यो । लगअनलगत्तै एपमा के–१ देखि के–९ सम्मका विभिन्न स्किम डिस्प्ले हुन्थ्यो । सोही स्किमको अर्कोतर्फ आम्दानीका विभिन्न श्रेणी देखिन्थ्यो । नयाँ सदस्यका लागि लगानी अनिवार्य थिएन । तर, उसलाई विश्वप्रसिद्ध फिल्म कम्पनी युनिभर्स, वार्नर ब्रोज, डिज्नीलगायतको विज्ञापन हेरिदिनुपर्ने सर्त राखिन्थ्यो । यसबापत दैनिक ९५ रुपैयाँ कमाइ हुने भन्दै रकम लिन एपमै खाता खोल्न लगाइन्थ्यो । सुरु–सुरुमा गिरोहले खातामा रकम जम्मा पनि गरिदिन्थ्यो । अब विश्वासमा परेपछि उसले लगानी गर्न पनि सुरु गर्थ्यो । नयाँ ग्राहक खोजे १२ प्रतिशतसम्म कमिसन दिने प्रलोभनमा नयाँ युवा खोज्न प्रेरित पनि गर्थ्यो । 

एपमा भएको डिस्प्ले चार्टअनुसार के– १ तहका लगानीकर्ताले एप्समा तीन हजार रुपैयाँ लगानी गर्न सक्थ्यो । यसबापत उसले दैनिक १०० रुपैयाँ आम्दानी गर्थ्यो । यदि उसले पाँचजना नयाँ ग्राहक खोले थप २० पोइन्टसम्मको कमिसन दिइन्थ्यो । त्यस्तै, के–२ का लागि नौ हजार ९००, के–३ का लागि ३३ हजार ८००, के–४ का लागि एक लाख १० हजार, के–५ का लागि तीन लाख पाँच हजार, के–६ का लागि नौ लाख ६० हजार, के–७ का लागि २६ लाख ८० हजार, के–८ का लागि ७५ लाख र के–९ का लागि एक करोड लगानी निर्धारण गरिएको थियो । तोकिएको टास्क पूरा गरे के– ९ का लगानीकर्ताले प्रतिमहिना दुई करोड ५२ लाखसम्म आम्दानी गर्न सक्ने भनिएको थियो । 

तर, प्रोत्साहित भएर लगानी गरेका युवालाई सुरुमा केही मुनाफा दिएर पछि कार्यालय नै बन्द गरी सम्पर्कविहीन भएको प्रहरी बताउँछ । ‘ग्राहकलाई विश्वासमा पार्न गिरोहले कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्रमाणपत्र पनि लिएको देखिन्छ । सोही आधारमा चितवनमा कार्यालय नै खोजेर एपको प्रवर्द्धन गरेको देखिन्छ । राम्रो नाफा हुने प्रलोभनमा युवाले लगानी गरेको र सुरुमा केही मुनाफा बाँडेपछि कार्यालय नै बन्द गरेर सम्पर्कविहीन भएको देखियो । यसरी उनीहरूले धेरै युवालाई ठगेको देखिन्छ ।’ 

ब्युरोका अनुसार एपमा हालसम्म ७० हजार युवा सदस्य रहेको देखिएको छ । यस आधारमा ठगिनेको संख्या अझ धेरै हुन सक्ने प्रहरीको भनाइ छ । 

‘एसएमसी’ एपमार्फत यसरी गर्थे ठगी

गिरोहले सुरुमा सम्पर्कमा आएका सदस्यलाई मोबाइलमा ‘एसएमसी’ एप डाउनलोड गर्न लगाउँथ्यो । एप इन्स्टलपछि लगअन गर्न सिकाउँथ्यो । लगअनलगत्तै एपमा के–१ देखि के–९ सम्मका विभिन्न स्किम डिस्प्ले हुन्थ्यो । सोही स्किमको अर्कोतर्फ आम्दानीका विभिन्न श्रेणी देखिन्थ्यो । नयाँ सदस्यका लागि लगानी अनिवार्य थिएन । तर, उसलाई विश्वप्रसिद्ध फिल्म कम्पनी युनिभर्स, वार्नर ब्रोज, डिज्नीलगायतको विज्ञापन हेरिदिनुपर्ने सर्त राखिन्थ्यो । यसबापत दैनिक ९५ रुपैयाँ कमाइ हुने भन्दै रकम लिन एपमै खाता खोल्न लगाइन्थ्यो । सुरु–सुरुमा गिरोहले खातामा रकम जम्मा पनि गरिदिन्थ्यो । अब विश्वासमा परेपछि उसले लगानी गर्न पनि सुरु गर्थ्यो । नयाँ ग्राहक खोजे १२ प्रतिशतसम्म कमिसन दिने प्रलोभनमा नयाँ युवा खोज्न प्रेरित पनि गर्थ्यो । 

एपमा भएको डिस्प्ले चार्टअनुसार के– १ तहका लगानीकर्ताले एप्समा तीन हजार रुपैयाँ लगानी गर्न सक्थ्यो । यसबापत उसले दैनिक १०० रुपैयाँ आम्दानी गर्थ्यो । यदि उसले पाँचजना नयाँ ग्राहक खोले थप २० पोइन्टसम्मको कमिसन दिइन्थ्यो । त्यस्तै, के–२ का लागि नौ हजार ९००, के–३ का लागि ३३ हजार ८००, के–४ का लागि एक लाख १० हजार, के–५ का लागि तीन लाख पाँच हजार, के–६ का लागि नौ लाख ६० हजार, के–७ का लागि २६ लाख ८० हजार, के–८ का लागि ७५ लाख र के–९ का लागि एक करोड लगानी निर्धारण गरिएको थियो । तोकिएको टास्क पूरा गरे के– ९ का लगानीकर्ताले प्रतिमहिना दुई करोड ५२ लाखसम्म आम्दानी गर्न सक्ने भनिएको थियो । यो खबर आजको नयाँपत्रिका दैनिकमा प्रकाशित भएको छ ।