काठमाडौंः तीन तहको सुरक्षा घेराभित्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मंगलबार (आज) बाट मतपत्र छपाई थाल्दै छ । निर्वाचन आयोग र जनक शिक्षा सामग्री केन्द्रबीच आइतबार भएको बैठक र औपचारिक सम्झौतापछि मतपत्र छपाई थालिने भएको हो ।
आगामी २१ फागुनमा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन माघ ६ मा हुने र अन्तिम नामावली तथा निर्वाचन चिन्ह तय हुने समयसम्म समानुपातिकतर्फको मतपत्र छपाई सक्नेगरी तयारी भएको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । आयोग र केन्द्रबीच भएको सहमतिअनुसार सुरुमा समानुपातिकतर्फको मतपत्र छपाई हुनेछ भने माघ १२ गतेबाट प्रत्यक्ष निर्वाचनको मतपत्र छपाई सुरु गरिने तयारी भएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फका मतपत्र छापेर सुरक्षित प्याकिङ गरी सुरक्षा व्यवस्थासहित निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने आयोग र केन्द्रबीच सहमति भएको आयोगका प्रवक्ता भट्टराईले बताए । जनक शिक्षाले एसईईको परीक्षाका प्रश्नपत्र, राजस्व तथा अन्तःशुल्क स्टिकरलगायतका सुरक्षण मुद्रणको काम गर्दै आएको छ ।
मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र
निर्वाचन आयोगले कूल मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छपाई गर्ने भएको छ । देशैभरका निर्वाचन केन्द्रहरूमा पठाइने मतपत्रमा त्रुटि हुने सम्भावना मध्यनजर गरी अतिरिक्त १० प्रतिशत छपाई गरिने सहमति भएको आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
२१ फागुनको निर्वाचनका लागि २ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना योग्य मतदाता रहेकाले त्यसको १० प्रतिशत थप हुनेगरी ३ करोड २० लाख थान मतपत्र छपाई गर्नेछ । जनक शिक्षाका प्रबन्ध सञ्चालक यदुप्रसाद पौडेलका अनुसार यसपटक कुल मतदाता संख्याभन्दा १० प्रतिशत बढी मतपत्र छपाई गर्न लागिएको हो ।
सरकारले निर्णय गरेअनुसारको तीन घेरा सुरक्षाभित्र मतपत्र छपाई हुने जनक शिक्षाले जनाएको छ । छपाई कार्यका लागि लिमिटेडका २ सय कर्मचारी परिचालित हुनेछन् भने विशेष सुरक्षा विधिसहितको एकीकृत सुरक्षा दस्ताले छपाईस्थल र मेसिनको सुरक्षा गर्नेछ । मतपत्र छपाईस्थल नेपाली सेनाले सुरक्षामा रहनेछ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको दुई घेराले मतपत्र छपाईस्थलको सुरक्षा गर्नेछन् । प्रविधिमार्फत अनुगमन गरिने बताउँदै नेपाली सेनाले सुरक्षा प्रणालीको सम्पूर्ण निगरानी, फुटेज संकलन तथा संग्रह गरी राख्ने व्यवस्थासमेत मिलाएको छ ।
जनक शिक्षा सामग्री केन्द्रका ४ वटा मेसिनबाट २४सै घण्टा छपाई गर्ने गरी काम थालिएको छ । ९ माघसम्म समानुपातिकतर्फको सकेर १२ माघदेखि प्रत्यक्षतर्फको छपाई गर्ने तयारी गरेको जनक शिक्षाले मेसिनको सम्भावित कमजोरीका आधारमा मर्मत गर्न मेकानिक तथा आवश्यक जनशक्ति तयारी अवस्थामा राखिएको पनि जनाएको छ ।
समानुपातिकमा ५८ चिन्ह भएको सेतो मतपत्र
निर्वाचन आयोगले समानुपातिकतर्फ सेतोमा कालो प्रिन्ट भएको मतपत्र छाप्ने भएको छ । पहिले हल्का रातो रंगको मतपत्र समानुपातिकतर्फ प्रयोग भएकोमा यसपटक सेतोमा कालो अक्षरले प्रिन्ट भएका मतपत्र प्रयोग हुने भएको हो । आसन्न निर्वाचनमा समानुपातिकतर्फ ९३ दलले दर्ता गराई निर्वाचन चिन्ह प्राप्त गरे पनि निर्वाचनका लागि ६४ दलले बन्दसूची पेस गरेका थिए । बन्दसूची पेस गर्ने ६४ दलले एकल र संयुक्त गरी प्रस्ताव गरेका ५८ निर्वाचन चिन्हलाई मतपत्रमा समावेश गरिएको प्रवक्ता भट्टराईले बताए ।
थपिएका मतदाताको परिचयपत्र छापिँदै
निर्वाचन आयोगले २०७९ सालको निर्वाचनपछि थपिएका मतदाताका लागि परिचयपत्र छापिरहेको छ । नयाँ मतदातालाई मतदान केन्द्रमा परिचयपत्र वितरण गरिने आयोगले जनाएको छ । आयोगले ९ लाख १५ हजार १ सय १९ नयाँ मतदातालाई मात्र मतदाता परिचयपत्र वितरण गर्ने प्रवक्ता भट्टराईले जानकारी दिए ।
मतदान केन्द्रमा चार सेट नामावली
निर्वाचन आयोगले हरेक मतदान केन्द्रका लागि चार वटाका दरले पर्याप्त हुने गरी मतदाता नामावली र परिचयपत्र छापेको छ । आयोगले आगामी २१ फागुनका लागि तोकेको २३ हजार १ सय १२ मतदान केन्द्रका लागि मतदाता नामावली छापिएको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए । कुल ९२ हजार ४ सय ४८ सेट मतदाता नामावली र परिचयपत्र छापिएको छ । चार सेटमध्ये जिल्ला निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय र दुईवटा सम्बन्धित मतदान केन्द्रमा पठाइने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले शुक्रबार मतदाता नामावली र परिचयपत्र छपाइको उद्घाटन गरेका थिए ।
राष्ट्रियसभामा ‘७–६–४–१’को भागबन्डा
११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेर जाने विषयमा पुराना ४ राजनीतिक दलबीच सहमति जुटेको छ । ११ माघमा राष्ट्रियसभामा रिक्त १८ जना सांसदका लागि निर्वाचन हु ँदैछ । सो निर्वाचनका लागि आपसी तालमेल गरेर जाने विषयमा सहमति भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन् । उनका अनुसार रिक्त १८ मध्ये ७ सिटमा नेपाली कांग्रेस, ६ सिटमा नेकपा एमाले, ४ सिटमा नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० र १ सिटमा जनता समाजवादी पार्टीले उम्मेदवारी दिने सहमति भएको हो ।
कांग्रेस र नेकपाबीच पटक पटक भएको छलफलमा एमालेका दोस्रो तहका नेताले सहमति जनाएलगत्तै आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि ४ दलबीच तालमेलको अन्तिम सहमति जुटको हो । ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवसँग सिट बाँडफाँटको सहमतिलाई कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा समेत अनुमोदन गराइएको बताइएको छ ।
राष्ट्रियसभामा भएको सिट बाँडफाँडको सहमतिलाई कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दलहरूबीच भएको सहमतिको खाका प्रस्तुत गरेका थिए । दलहरूबीच सहमति भएपछि अब आ–आफ्ना दलले ती क्षेत्रमा उम्मेदवारको टुंगो लगाउने बताएका छन् ।
‘डिजिटल प्लेटफर्म’ टाउको दुखाइ
आयोगलाई निर्वाचनलक्षित प्रचारप्रसार सवालमा प्रयोग हुने ‘डिजिटल प्लेटफर्म’ अनुगमन तथा निगरानी टाउको दुखाइको विषय हुने भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्त, सचिवदेखि प्रवक्ता तथा कर्मचारीसम्म निरन्तर आइरहेको साझा सुझाव र चिन्ताको विषय ‘डिजिटल प्लेटफर्म’सम्बन्धी पाइएको छ ।
निर्वाचन आयोग केन्द्रीय आचारसंहिता अनुगमन समितिको सोमबार बसेको बैठकमा पनि अधिकांशले ‘डिजिटल प्लेटफर्म’मार्फत भइरहेको प्रचारप्रसारमा ‘मिथ्या, भ्रमपूर्ण र प्रविधि दुरुपयोग भएका’मा चिन्ता व्यक्त भएको छ ।
आचारसंहिता अनुगमन समिति संयोजक सगुनशमशेर जबराको संयोजकत्वमा बसेको बैठकमा सूचना प्रविधिको प्रयोग गरी सामाजिक सञ्जालमार्फत ‘मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्ण जानकारीको पहिचान, निगरानी तथा नियन्त्रण गर्ने र त्यस्तो गतिविधि गर्नेलाई सचेतनात्मक, प्रवर्धनात्मक तथा दण्डात्मक विधिबाट नियमन गर्ने’ विषयमा छलफल भएको आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
सूचना प्रविधि दुरुपयोग रोक्न आयोगले सम्बन्धित निकायसँग समेत समन्वय गर्ने आयुक्त जबराले बैठकमार्फत प्रस्ट्याए । आयोगको आचारसंहिता राजनीतिक दलसँगको परामर्शमै तयार भएको र आचारसंहिता पालना गरी निर्वाचन भयरहित तथा स्वच्छ ढंगले सम्पन्न गर्ने अवस्था निर्माण गर्न सबै दलको सहयोग हुने आयोग सदस्य डा।जानकीकुमारी तुलाधरले बताइन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।




















