काठमाडौँः कानुनी प्रतिबन्ध हुँदाहुँदै पनि नेपालमा प्रविधि प्रयोगमार्फत अभौतिक सम्पत्तिको कारोबार गर्ने क्रम व्यापक भएको नेपाल राष्ट्र बैङ्कको एक अध्ययन प्रतिवेदनले औँल्याएको छ । नेपालमा अभौतिक सम्पत्ति कारोबारबारे राष्ट्र बैङ्कको वित्तीय जानकारी एकाइले सार्वजनिक गरेको रणनीतिक विश्लेषण प्रतिवेदनले क्रिप्टोकरेन्सी जस्ता अभौतिक सम्पत्तिको कारोबारमा युवापुस्ता धेरै संलग्न रहेको औँल्याएको छ ।
प्रतिवेदन अनुसार पछिल्ला चार वर्षमा अभौतिक सम्पत्ति कारोबार भएकोबारे कुल ६५८ वटा कारोबारको जानकारी प्राप्त भएको छ । सन् २०२१ मा १३ वटा कारोबार रिपोर्ट भएकामा २०२२ मा १७३ पुगेका छन् भने सन् २०२४ मा २५२ वटा यस्ता कारोबार घटना रिपोर्ट भएको देखिएको छ । सन् २०२५ को मध्य जुलाईसम्म ८२ वटा यस्ता घटना रेकर्ड भएको छ । प्रतिवेदनले अवैध अभौतिक सम्पत्ति कारोबारमा २१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिको संलग्नता बढी देखिएको छ ।
अभौतिक सम्पत्तिको कारोबारपछिको भुक्तानी वाणिज्य बैङ्कमार्फत नै बढी हुने गरेका कारण यस्तो शङ्कास्पद कारोबारको रिपोर्ट पनि वाणिज्य बैङ्कहरूबाट सबैभन्दा धेरै प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार अध्ययन सन् २०२१ जनवरी १ देखि २०२५ जुलाई १५ सम्म वाणिज्य बैङ्कहरूबाट छ सय वटा शङ्कास्पद कारोबार रिपोर्ट राष्ट्र बैङ्कमा प्राप्त भएका थिए । त्यसपछि विकास बैङ्कबाट ४८ वटा उजुरी विकास बैङ्कबाट प्राप्त भएका छन् ।
प्रतिवेदनले विशेष गरी युवापुस्ताका विद्यार्थी यस्तो कारोबारमा बढी संलग्न रहेको पाइएको औँल्याएको छ । प्रतिवेदन अनुसार शङ्कास्पद कारोबारमा संलग्नमध्ये २१ देखि ४० वर्षका युवाको हिस्सा ९२ प्रतिशत छ । अझ २६ देखि ३० वर्षसम्मका मात्रै ३५ प्रतिशत रहेको देखिन्छ । पेसागत रूपमा २९ प्रतिशत विद्यार्थी छन् भने २१ प्रतिशत कर्मचारी छन् । यसले क्रिप्टो, बेटिङ जस्ता अवैध र अभौतिक कारोबारमा युवा संलग्न हुने र रकम भुक्तानीका लागि बैङ्किङ प्रणाली र हुन्डीको प्रयोग हुने गरेको प्रतिवेदनले औँल्याएको छ ।




















