इटहरीः सुनसरीमा बिहीवार बिहानको राति १ बजेतिर सशस्त्र प्रहरीले गोली चलाउँदा एक पुरुषको निधन भएपछि बिहीवार दिनभर यहाँको अवस्था तनावग्रस्त बनेको छ । जसकारण पूर्व पश्चिम राजमार्ग नै अवरुद्ध हुँदा यस क्षेत्र अशान्त बनेको हो ।

सीमा नजिक भएको घटनापछि स्थानीयमा त्रास फैलिनुका साथै आवतजावत प्रभावित भएको छ भने खुला सीमाका कारण सुरक्षा चुनौती देखिएको छ । सशस्त्र प्रहरी वेस क्याम्प बीओपी लौकही नजिकै पुरी टोलमा सशस्त्रले चलाएको गोली लागेर सुनसरीको कोसी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएपछि प्रदर्शन उत्कर्षमा पुगेको थियो ।

गोली हानेर हत्या गर्ने दोषीलाई कारबाहीको माग राख्दै मृतकका आफन्त तथा स्थानीयबासीले सडकमै शव राखेर बिहीवार प्रदर्शन गरेका हुन् । ठूलो संख्यामा भेला भएका स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए भने भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाईफायरसमेत गरेको थियो ।

राज्यको सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान जानु सामान्य घटना नभएको भन्दै स्थानीयवासी आक्रोशित बनेका थिए ।

घटनापछि उत्पन्न आक्रोश र तनावलाई शान्त पार्दै जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरूको बैठकले सत्य, तथ्य छानबिन र पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धतासहित पाँच बुँदे सहमति गरेपछि प्रदर्शन रोकिएको छ । पीडित पक्ष र प्रशासनबीच बिहीवार दिउँसो बसेको बैठकले पाँच बुँदे सहमति गरेको हो ।

घटनापछि सत्य, तथ्य पत्ता लगाउन सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरिएको हो । निर्णयमा भनिएको छ, ‘सशस्त्र प्रहरी बलको गोलीका कारण मृत्यु भएका विजय साहको मृत्यु र गोली प्रहार गर्नुपर्ने कारण र परिणामका सम्बन्धमा छानविन गरी सत्य, तथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाल प्रहरीका प्र।ना।उ। र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि रहनेगरी ७ ९सात० दिन भित्र प्रतिवेदन पेश गर्ने गरी छानविन समिति गठन गरिने ।’

छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि सुरक्षा अधिकारीको लापरवाहीको कारण मृत्यु भएको पाइएमा नियमानुसारको राहत एवं क्षतिपूर्तिका लागि नेपाल सरकार गृह मन्त्रालयमा सिफारिस गरी पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

उनका अनुसार मृतक विजय साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले पहलकदमी तथा सहजीकरण गरिदिनेसमेत निर्णय भएको छ ।

यसैगरी मृतकको छोरा सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा राखेमा निजलाई भर्ना हुनका लागि सशस्त्र प्रहरी बल नं। १ बराह वाहिनीले नियमानुसार आवश्यक सहयोग एवं सहजीकरण गरिदिने निर्णय भएको छ ।

यस्तै, मृतकको शव पोष्टमार्टमको लागि नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने र सो पश्चात मृतक परिवारले दाहसंस्कार गर्नेगरी निर्णय भएको छ । खासगरी दिनभर प्रदर्शनका कारण राजमार्ग अवरुद्ध हुँदा यातायात प्रभावित बनेको थियो ।

प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार सहमतिपछि लौकही क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै जाने अपेक्षा गरिएको छ ।

सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका डिआइजी कुमार न्यौपानेका अनुसार भारतसँग सीमावर्ती जोडिएका क्षेत्रबाट सिटी सफारी चालकमा चोरी, तस्करी गरी सामान आयात गर्दै गर्दा दोहोरो भीडन्त भएको थियो । सशस्त्र प्रहरीले चोरी–तस्करीको आशंकामा भएको दोहोरो भीडन्तमा गोली चलाइएको दाबी गर्दै आएको छ ।

बुधबार राति तस्करी नियन्त्रणका क्रममा भएको भनिएको घटनामा साहको मृत्यु भएपछि स्थानीय बासिन्दाले प्रदर्शन गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । सो क्रममा सशस्त्र प्रहरीको बिटमा आगजनीसमेत भएको छ ।

घटनाले सुनसरीको सीमावर्ती क्षेत्रमा लामो समयदेखि देखिँदै आएको सुरक्षा चुनौतीमाथि प्रश्न उठाएको छ । खुला सीमा, आवतजावतको सहजता र सीमा क्षेत्रमा आपराधिक गतिविधिका कारण यस्ता घटना दोहोरिने जोखिम बढ्दै गएको जानकारहरूको भनाइ छ । सुरक्षा निकायबीच समन्वय मजबुत बनाउने, नियमित गस्ती बढाउने र सीमावर्ती क्षेत्रमा प्रभावकारी निगरानी व्यवस्था लागू नगरेसम्म यस्ता अशान्त घटनाको अन्त्य हुन नसक्ने सरोकारवालाहरू बताउँछन् । यो खबर आजको राजधानी दैनिकमा  मा प्रकाशित भएको छ ।