विराटनगरः  नेकपा (एमाले)कोशी प्रदेश कमिटीले वर्तमान सरकारलाई ‘असंवैधानिक’ र ‘प्रतिगमनकारी’ भएको आरोप लगाउँदै प्रदेशव्यापी आन्दोलनमा उत्रने घोषणा गरेको छ।

मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत एमाले कोशी प्रदेश कमिटीले आन्दोलनको औपचारिक घोषणा गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै पार्टी नेताहरूले सरकारले राजनीतिक प्रतिशोधको भावना राखेर काम गरिरहेको आरोप लगाए।

कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले प्रदेशका सबै १४ जिल्लामा चरणबद्ध प्रदर्शन कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। हालै सम्पन्न नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएपछि कोशी प्रदेशमा आन्दोलनको घोषणा गरिएको हो।

एमालेले अध्यक्ष ओली पुनः निर्वाचित भएपछि सरकार लोकप्रियताबाट डराएर षड्यन्त्रमा लागेको दाबी गरेको छ। साथै पार्टी अध्यक्ष ओलीलाई लक्षित गरी गठन गरिएको कथित छानबिन आयोगमार्फत दुःख दिन खोजिएको आरोप पनि लगाइएको छ।

एमाले कोशी प्रदेश कमिटीले २०८२ भदौ २३ र २४ गते भएका घटनाको सन्दर्भ उल्लेख गर्दै जननिर्वाचित सरकारलाई अपदस्त गर्ने तथा असंवैधानिक सरकार गठन गर्ने प्रयासले लोकतन्त्र र संविधानमाथि गम्भीर प्रहार भएको जनाएको छ।