इटहरीः सुनसरी जिल्लामा नेकपा एमालेको राजनितिमा आफुलाई निकै नै प्रभावशाली र केन्द्रसम्म गतिलो पहुँच भएको बताउने १० जना नेताहरु एमालेको ११ महाधिवेशनमा नराम्रो गरि पराजित भएका छन् ।
महासधवेशनको संघारमै भ्रष्ट्राचार मुद्दा लागेका पूर्व पर्यटनमन्त्री, पार्टीका सचिव समेत भईसकेका भिमप्रसाद आर्चाय देखि लिएर कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी सहित आफुलाई निकै प्रभावशाली नेता ठान्ने १० जना केन्द्रिय सदस्यमा पराजित भएका हुन् ।
आर्चाय केही समय कोशी प्रदेशको मुख्यमन्त्री समेत भएका थिए । उनी २०७९ को निर्वाचनमा सुनसरीको निर्वाचन क्षेत्र ज.नम्बर २ बाट प्रतिनिधिसभाका लागि निर्वाचित सदस्य समेत हुन् । उनीसँगै महिला तर्फबाट केन्द्रिय सदस्यको उम्मेदवारी दिइएकी उनकी श्रीमति कोशी प्रदेश सभाकी सांसद निरा खनाल आर्चाय पनि पराजित भएकी छन् । आर्चायका स्वकिय सचिव लोकेश निरौंला समेत केन्द्रिय सदस्य पदमा पराजित भएका छन् । उनले भूगोल तर्फ कोशी प्रदेशबाट युवा कोटाबाट केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी दिएका थिए । कोशी प्रदेशबाट क्षितिज थेवे विजयी भएका थिए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीका विश्वासपात्र भनिएका आन्तरिक मामिला मन्त्री भण्डारीसँगै एमालेको केन्द्रिय सदस्य समेत रहेकी इटहरी उपमहानगरपालिकाकी निर्वतमान उपमेयर लक्ष्मि गौतम पनि केन्द्रिय सदस्यमा पराजित भइन् । त्यसैगरि मुस्लिम कोटाबाट केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका तैयब हुसेन समेत पराजित भएका छन् । मजदुर नेता भिम राई ज्वाला पनि केन्द्रिय सदस्यमा पराजित भएका छन् ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत भएका प्रेम दंगाल र इनरुवा नगरपालिकाका पूर्व मेयर खेमराज पोख्रेल पनि केन्द्रिय सदस्य पदमा पराजित भएका छन् । केन्द्रिय अनुशासन आयोगमा उम्मेदवारी दिएका पोष्टकुमार नेपाल पनि सदस्य पदमा पराजित भएका छन् । केन्द्रिय सदस्य पदमा पराजित भएसँगै आफुलाई प्रभावशाली नेता ठान्नेहरु अब साईजमा आउने महाधिवेशनमा सहभागी एक युवा नेताले दावी गरे । पराजित मध्येका केही नेताहरुको फुर्तीफार्ती असुहाउँदो नै थियो । केपी शर्मा ओली हबला दिँदै महाधिवेशन प्रतिनिधि छनौटमै दादागिरी शैलीमा प्रस्तुत भएकाहरु समेत केन्द्रिय सदस्यमा पराजित भएपछि पार्टी भित्र र बाहिरको राजनिति यात्रामा असर गर्ने निश्चित भएको ती नेताले बताए ।

ती युवा नेताले भने र्—सुनसरी जिल्लामा केही नेताहरुको मनपरीतन्त्र थामिनसक्नु गरि बढेको थियो । पार्टीको निर्वाचनको परिणामले साईजमा ल्याउने काम गरेको छ । यो परिणामबाट अबको नेतृत्वमा आउने युवा नेता र कार्यकर्ताहरु खुसी छन् । अब पराजितहरुलाई आउँदो निर्वाचनमा टिकट ल्याउन समेत रोक्नुको विकल्प छैन् । ’

सुनसरीबाट उम्मेदवारी दिएकाहरु मध्ये २०७९ को प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भगवती चौधरी, कोशी प्रदेशका प्रथम मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारका पर्यटनमन्त्री समेत भएका जगदिश कुसैयत र धरान उपमहानगरपालिकाकी निर्वतमान उपमेयर मञ्जु भण्डारी केन्द्रिय सदस्य पदमा भारी मत ल्याई विजयी भएका छन् ।





















