विराटनगरः कोशी प्रदेश सरकारले निकै तामझामका साथ ‘कोशी पर्यटन वर्ष २०८२’ लाई लक्षित गर्दै सुरु गरेको भारतीय गाडीमा ‘सुरक्षा जाँच स्टिकर’ टाँस्ने अभियान रोकिएको छ ।
ठाउँ ठाउँमा हुने चेकजाँचको झन्झट हटाएर निर्बाध आवागमन गर्न सक्ने उद्देश्यले सुरु गरेको स्टिकर अभियान तीन महिना पूरा नहुँदै रोकिएको हो । यो अभियानले निरन्तरता नपाउँदा ६० लाख रुपियाँभन्दा बढी खर्च गरेर छापेका स्टिकर उपयोगविहीन छन् भने पर्यटकले पाउने सास्ती उस्तै छ ।
भारतीय पर्यटकको सहजताका लागि भन्दै गत वैशाख १ देखि सुरु गरिएको अभियान सुरुमा बजेट अभावको कारण स्टिकर छपाइ नहुँदा बन्द भएको भनिएको थियो तर गत वर्ष छापिएको स्टिकर थोरै मात्र खपत भएको र हजारौँ थान स्टिकर अझै उपयोगहीन अवस्थामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको स्टोरमा थुप्रिरहेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘ड्रिम प्रोजेक्ट’ र ठुलो उपलब्धिका रूपमा अथ्र्याउँदै निकै तामझामका साथ अभियानको सुरुवात गर्नुभएको थियो तर आर्थिक वर्ष फेरिएसँगै परियोजना अलपत्र परेको हो ।
गत आवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बजेट व्यवस्थापन गरी स्टिकर छापेर नेपाल प्रहरीलाई उपलब्ध गराएको थियो । नाकाबाट प्रवेश गर्ने भारतीय गाडीमा प्रहरीले सो स्टिकर टाँसेपछि ती सवारीसाधनले प्रदेशभरि बिनाअवरोध घुम्न पाउने बताइएको थियो । अहिले भने कोशी प्रदेशमा भारतबाट भान्टाबारी, विराटनगर, काँकडभिट्टा र पशुपतिनगर नाका भएर दैनिक करिब पाँच सय भारतीय गाडी स्टिकरबिना नै नेपाल प्रवेश गरिरहेका छन् ।
विराटनगरबाट भेडेटार वा नजिकका गन्तव्यसम्म पुग्दा अहिले पनि कैयौँ स्थानमा प्रहरीले गाडी रोकेर चेकजाँच गर्ने र अनावश्यक झन्झट नघटेको पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठले बताए।
सवारीधनीको असहयोगले असफल
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पर्यटक लिएर आउने सवारीसाधनका चालकको असहयोगका कारण अभियान असफल भएको बताउने गरेको छ ।
मन्त्रालयका प्रवक्ता तथा उपसचिव अर्जुन निरौलाले भने, “सवारीसाधनका चालक वा धनीले गाडीमा स्टिकर टाँस्न दिँदैनन् । महँगो गाडीको सिसा वा बडीमा स्टिकर टाँस्दा ग्लुको दाग बस्ने भन्दै स्टिकर टाँस्न नमान्दा अभियान नै रोकिएको हो ।” उनले अहिले पनि मन्त्रालयमा पर्याप्त परिमाणमा स्टिकर मौज्दात रहेको बताए। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।



















