विराटनगरः  एमालेको कोशी प्रदेश अधिवेशनमा पराजित भएपछि लामो समय ‘भूमिकाविहीन’ बनाइएका नेता विनोद ढकालले अब सिधै केन्द्रीय पदाधिकारीमा दाबी पेश गर्ने भएका छन् । नेतृत्वको आन्तरिक समीकरण र ‘वैरभाव’ का कारण प्रदेशको नेतृत्व गर्नबाट वञ्चित गरिएका ढकालले एमालेको आसन्न एघारौँ राष्ट्रिय महाधिवेशनमा ‘सचिव’ पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

विद्यार्थी राजनीतिबाट उदाएर भूगोलको राजनीतिमा बलियो पकड जमाएका ढकालको यो उम्मेदवारीलाई एमालेभित्र ‘अर्थपूर्ण कमब्याक’को रूपमा हेरिएको छ ।दशौँ महाधिवेशनमा फराकिलो मतान्तरसहित केन्द्रीय सदस्य निर्वाचित भए पनि कोशी प्रदेशको अधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि ढकाललाई पार्टीभित्र कुनै ठोस कार्यकारी जिम्मेवारी दिइएको थिएन । तर, पदमा नहुँदा पनि कोशी प्रदेशको एमाले राजनीतिमा उनी सधैं ‘पावर सेन्टर’को रूपमा रहे ।

प्रदेशका जिल्ला अधिवेशनहरू हुन् वा जनसंगठनका कार्यक्रम, ढकालको उपस्थिति र सक्रियता विना कोशी एमालेको गतिविधि अधुरो जस्तै देखिँदै आएको छ । युवा पुस्तामाझ लोकप्रिय रहेका उनले पद नहुँदा पनि संगठन चलायमान बनाउन खेलेको भूमिकालाई नै अब सचिव पदको दाबी गर्ने मुख्य आधार बनाएका छन् ।

एमालेको नर्सरी मानिने अनेरास्ववियुबाट राजनीति सुरु गरेका ढकालसँग संगठन निर्माणको लामो अनुभव छ । भूमिगतकालमै अनेरास्ववियु मोरङको अध्यक्षदेखि केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालेका उनले विद्यार्थी राजनीतिबाट बिदा लिएपछि भूगोल (पार्टी राजनीति) मा आफूलाई अब्बल साबित गरे । मोरङ जिल्ला कमिटीको अध्यक्ष र इन्चार्ज समेत भइसकेका ढकाल बैचारिक र संगठनात्मक दुवै हिसाबले परिपक्व नेता मानिन्छन्।

पछिल्लो समय नेतृत्वको केही हिस्साले उनलाई किनारामा पार्न खोजे पनि कार्यकर्ता पङ्क्तिमा उनको क्रेज घटेको छैन । कोशी प्रदेशको ‘कर्नर’मा पारिएका ढकालले अब भूगोलको घेरा तोड्दै राष्ट्रिय राजनीतिमा आफ्नो स्पेस सुरक्षित गर्न सचिव पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको उनी निकटका नेताहरु बताउछन् ।