इटहरीः निडर पत्रकारका रुपमा आफ्नो पहिचान बनाउन सफल इटहरीका अग्रज पत्रकार तारा पोखरेलको निधन भएको छ ।
इटहरी ५ बराहटोल निवासी ६० बर्षीय पत्रकार पोखरेलको गए राती निधन भएको हो । उनी लामो समयदेखि इटहरीलाई कार्यक्षेत्र बनाएर निर्भिक र निडर रुपमा पत्रकारिता गर्दै आएका थिए । उनी प्रमाण सहित पाएका सूचनाहरु पाठकहरुले बुझ्ने शैलीमा कडा रुपमा समाचारका रुपमा लेख्ने गर्दथे । बिषेश गरि भ्रष्टाचार र व्यवथितीका विरुद्ध उनको कलम शसक्त रुपमा चल्दै आएको थियो । भ्रष्ट कर्मचारी र जनप्रतिनिधिहरुका लागि उनी निर्मम भएरै लेख्ने गर्दथे ।
बराह साप्तहिकबाट पत्रकारिता सुरु गरेका उनी पछिल्लो समय गणराज्य दैनिकमा समेत आवद्ध थिए । २० दिनअघि पेटमा समस्या आएपछि अस्पताल भर्ना भएका उनी घरमै आराम गरेर बसेका थिए ।
उनको यही शैलीलाई भ्रष्टाचारमा रमाउने कर्मचारी र जनप्रतिनिधहरुलाई सैय नहुँदा पत्रकार पोखरेलले अनावश्यक झमेलाहरु पटक पटक सहनु परेको थियो । तर,पनि उनले आफ्नो लेखन शैलीलाई यथावत नै राखेका थिए । पछिल्लो समय पेट सम्बन्धि गम्भिर रोगबाट थलिएका उनको निधन भएको हो ।
उनको पार्थीव शरिरलाई अन्ति संस्कारका लागि आज साढे १० बजे इटहरीको बुढीगंगा जमुना मुक्ति घाट ल्याईने भएको छ । उनको निधन प्रति इटहरीका बिभिन्न क्षेत्रका व्यक्तित्वहरुले सामाजिक सञ्चालमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनको निधनले इटहरीको सत्य,निर्भिक र निडर पत्रकारितामा अपुरणीय क्षति हुन पुगेको छ ।




















