इटहरीः जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारको निर्देशन र नीति विपरित जेनजी आन्दोलनमा सहभागीहरुलाई सुनसरी जिल्लामा गिरफ्तारी गर्ने क्रम बढेकोमा चिन्ता व्यक्त गर्दै जिल्लाका जेनजी समूह, विभिन्न राजनितिक दल, नागरिक समाज र स्वतन्त्र युवाहरुले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । 

 गत भदौ २३ र २४ गते भएको जेनजी प्रर्दशनका विषयमा उच्च स्तरीय छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नभए सम्म गिरफ्तारी बन्द गर्न माग गरेका छन् । आइतबार सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै उनिहरुले यस्तो माग गरेका हुन् ।  उनीहरुले छानबिन आयोगको प्रतिवेदन सार्वजनिक भए पछि मात्रै कारबाहीको प्रकृया अगाडी बढाउन माग गरेका हुन । 

जेनजी इटहरीका संयोजक अतित राईले छानबिन आयोगको प्रतिवदेन नआइ पक्राउ गर्न थालेकाले ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिए । जेनजी प्रर्दशनमा जोडिएको प्रमाणित नभई व्यक्तिहरुलाई पक्राउ गर्दै अपराधिकरण गर्न थालेको भन्दै असन्तुष्टि जनाए । यस्तो कार्य रोक्नुपर्ने उनले माग गरे । जेनजी आन्दोलनलाई नागरिक आन्दोलनको मान्यता दिन पनि माग गरिएको छ । 

WhatsApp Image 2025-12-07 at 21.38.38_2822b9a4

WhatsApp Image 2025-12-07 at 21.38.38_5be32302

प्रमुख जिल्ला अधिकारी घिमिरेलाई बुझाइएको ७ बुँदे ज्ञापन पत्रमा अन्यायपूर्ण तथा मनोमानी गिरफ्तारीहरु तुरुन्त अन्त्य गरी बिना सर्त रिहा प्रकृया अघि बढाउन माग गरिएको छ । यस्तै सामान्य प्रकृतिका  घटनामा संलग्न युवाहरुलाई दोषी प्रमाणित नभए सम्म न्यायिक व्यवहार गर्न माग गरिएको छ । 

तर आन्दोलनका क्रममा भएका गम्भिर आपराधिक कार्यमा संलग्न वास्तविक दोषीलाई पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने उनीहरुले बताएका छन् । 

जेनजी इटहरी, स्वतन्त्र नागरिक समाज इटहरी, स्वतन्त्र नागरिक समाज सुन्दरहरैँचा उज्यालो नेपाल पार्टी, राष्ट्रिय स्व्तन्त्र पार्टी इटहरी,वैज्ञानिक समाजवादी पार्टी, प्रगतिशिल लोकतान्त्रिक पाटी,नेकपा(माओवादी)ं र नागरिक अभियन्ताहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन । 

ज्ञापन पत्र बुझाउँदै उनीहरुले नागरिकको आवाज र अधिकारको लागि जिम्मेवार र शान्तिपूर्ण रुपमा उभिन प्रतिवद्द भएको बताएका छन् । प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउनु अघि उनीहरुले गिरफ्तारीका बिषयमा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमाल र सुनसरीका एसपी केशबकुमार थेवे लगायतसँग पनि संवाद गरेका थिए । ज्ञापन पत्र बुझाउनु अघि शनिवार जेनजी लगायतहरुले इटहरीमा भेला भई व्यापक छलफल गरेका थिए ।