सुन्दरहरैंचाः  मोरङको सुन्दरहरैंचा ( ३ गछियामा रहेको साथी कम्प्युटर लर्निङ सेन्टरले आफ्नै संस्थामा अध्ययनरत विद्यार्थीहरूबीच रोचक क्विज प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगिता दुई चरणमा सम्पन्न भएको सम्पन्न भएको थियो। पहिलो चरण समूहगत र दोस्रो चरण व्यक्तिगत प्रतिस्पर्धाका रूपमा सञ्चालन गरिएको थियो।

समूहगत प्रतियोगितामा ६ वटा समूह सहभागी थिए, जसमा प्रत्येक समूहमा ३ जना विद्यार्थी रहेका थिए। पहिलो चरणमा समूहगत रूपमा प्रतिस्पर्धा हुँदा समूह सी प्रथम, समूह ई दोस्रो तथा समूह ए ले तेस्रो स्थान हासिल गर्न सफल भएको साथी कम्प्युटर लर्निङ सेन्टरका प्रमुख निरञ्जन प्रसाद आचार्यले जानकारी दिए।

विजेता समूह सी बाट प्रथम हुने विजय विश्वकर्मा, रोहित पराजुली र तुलसा आचार्यलाई नगद ३ हजार,प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो। दोस्रो हुने समूह ई वृन्दा बास्तोला, दीपिका खड्का र यमिमा भट्टराईलाई नगद २ हजार ट्रफी र प्रमाणपत्र प्रधान गरिएको थियो भने तेस्रो हुने समूह ए लाई पनि नगद १ हजार ट्रफी र प्रमाणपत्र प्रधान गरिएको प्रमुख आचार्यले बताए।

अत्यन्तै कडा प्रतिस्पर्धा रहेको र समूहहरूबिचको फरक मात्र ५ देखि १० अङ्कको रहेको थियो। पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गरेका समूह सी र ई का विद्यार्थीहरूले व्यक्तिगत रूपमा दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए ।

दोस्रो चरणमा “नन(स्टप आन्सर” नामक विधामा प्रतियोगीहरूले लगातार २० प्रश्नहरूको उत्तर दिनु पर्ने थियो। यस चरणमा समूह सी का विजय विश्वकर्माले १६ वटा प्रश्न सही उत्तर दिएका थिए भने १७ औँ प्रश्नमा असफल भए। उनीलाई नगद १० हजार  पुरस्कार प्रदान गरिएको थियो।

समूह ई की वृन्दा बास्तोला र दीपिका खड्काले सबै २० वटा प्रश्नको सफल उत्तर दिँदै उत्कृष्ट प्रदर्शन गरे। उनीहरूलाई कम्प्युटर सेट, ट्रफी, प्रमाणपत्र र १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो। संस्थाका प्रमुख आचार्यले आफ्नो व्यक्तिगत आम्दानीबाट यो कार्यक्रम सञ्चालन गरेका थिए । 

सामाजिक अभियन्ता समेत रहेका आचार्य एक प्रेरणादायी व्यक्तित्व हुन्। जसले “लाभमुखी होइन, स्वावलम्बी विद्यार्थी उत्पादन गर्नु नै आफ्नो मुख्य उद्देश्य रहेको बताउँदै शिक्षामा आत्मनिर्भरता र सीपमूलक शिक्षाको महत्त्वमा जोड दिए। 

कार्यक्रमले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, आत्मविश्वास र ज्ञानप्रतिको रुचि वृद्धि गर्न उल्लेखनीय योगदान पुर्‍याएको संस्थाले जनाएको छ। संस्था ६ महिना अघि मात्र स्थापना भएको थियो। स्थापना भएको छोटो समयमा नै सुन्दरहरैंचामा हजारौँ विद्यार्थीहरूको मन जित्न सफल भएको छ।