इटहरीः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले असोज १८ देखि २० गतेसम्म मनसुन सक्रिय रहने र भारी वर्षासँगै सडक अवरुद्ध हुने सम्भावना रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ ।
शनिबार बिहान ७ बजेसम्म मुख्य राजमार्गहरु बन्द भएको खबर आएको छैन । राती बन्द भएका सडक आज बिहान ५ बजेबाट सञ्चालनमा आएका हुन् ।
विभागले सडक प्रयोगकर्तालाई आवश्यक सूचना पाउन टोल–फ्री नम्बर ९८५१४१६८९३ वा नजिकको सडक कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
लगातारको वर्षाका कारण देशभरका चारवटा राजमार्ग खण्डमा सवारी आवागमन अवरुद्ध भएको सडक विभागले जनाएको छ ।
अवरुद्ध खण्डमा ताप्लेजुङको फक्ताङलुङ–बेल्ली खोलादेखि रुकुमको तादीगाउँ–डिङ्ग्रे, संखुवासभाको अर्खटेप र सिन्धुलीको १०४ किलोमिटर क्षेत्रअन्तर्गतका भाग समावेश छन् । विभागले पहिरो पन्छाउने काम भइरहेको र सडक छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार मुलुकको अधिकांश स्थानमा भारी वर्षा हुने सम्भावना रहेको तथा पहिरो र बाढीको उच्च जोखिम रहने जनाएको छ ।
सडक विभागले विशेषगरी मुग्लिङ–नारायणगढ सडक, मुग्लिङ–गोरखा सडक, बिपी राजमार्ग, अरनिको राजमार्ग, त्रिभुवन राजपथ, गल्छी–स्याङ्जा सडक अवरुद्ध हुन सक्ने भन्दै यी स्थानहरूमा रातिको समयमा (बेलुकी ८ देखि बिहान ५ बजेसम्म) यात्रा नगर्न विभागले आग्रह गरेको छ ।
सडक विभागका प्रवक्ता प्रभातकुमार झाले प्रभावित क्षेत्रका अवरुद्ध सडक खण्डहरूमा आवश्यक उपकरण परिचालन गरी तत्कालै मर्मत तथा पहिरो हटाउने कार्य अघि बढाइने जानकारी दिएका छन् । विभागले सडक अवरुद्ध हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सम्पूर्ण सडक प्रयोगकर्तालाई सतर्क रहन अनुरोध गरेको छ ।