इटहरी: इटहरी उपमहानगरपालिकाका प्रमुख(मेयर)का विरुद्ध सामाजिक सञ्जालमा भिडियो बनाउने इटहरीकी एक अभियन्ता युवतीलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ । उनलाई आइन्दा मेयर हेमकर्ण पौडेल विरुद्ध नबोल्ने र भिडियो सामाग्री नबाउने लिखित सर्तमा छाडिएको हो ।
इटहरी २ की ताजिना विष्टलाई इलाका प्रहरी कार्यालय इटहरीले मङ्गलवार नियन्त्रणमा लिएको थियो । उनलाई मेयर पौडेलको सचिवालयको तर्फबाट नीराजन पाण्डेको नामबाट इलाका प्रहरी कार्यालय इटहरीमा मङ्गलवार नै युवतीका विरुद्ध उजुरी दिइएको थियो ।
उजुरी पाउन साथ इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोली उनलाई खोज्दै घरै पुगेको थियो । पछि उनी आफै प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् ।
प्रहरीले उनी कार्यालय उपस्थित हुनुअघि नै फोन गरेर उनको कस्तुरी लेडि डन नामक सामाजिक सञ्जाल टिकटक एकाउन्टमा अपलोड गरेको भिडियो डिलिट गर्न बाध्य बनाएको थियो ।
दिदीको उपचारको सिलसिलामा उनी भने विराटनगर अस्पतालमा रहेकी थिइन् । प्रहरीले उनी विरुद्ध उजुरी परेको र खोजी गरिरहेको सूचना पाएपछि आफै प्रहरी कार्यालय उपस्थित भएकी थिइन् ।
प्रहरी कार्यालय उपस्थित भएपछि इटहरी उपमहानगरपालिकाका मेयर पौडेलको सचिवालयबाट उजुरी कर्ता पाण्डे र सचिवालयकै अर्का कर्मचारी एडी दाहाल समेत छलफलमा सहभागी भएका थिए । पाण्डे र दाहाल प्रदेश र सङ्घीय कानुन विपरीत मेयरको तोक आदेशका भरमा नियुक्ति भएका कर्मचारी हुन् ।
छलफलको क्रममा अभियन्ता विष्टले लोकतान्त्रिक गणतन्त्रमा विकृति विसङ्गतिका विरुद्ध बोल्ने अधिकार सबै नागरिकमा रहेको बताउँदै आफ्नो आवाजलाई नियोजित रूपमा दबाउन खोजेको भन्दै प्रतिवाद गरेकी थिइन् । आफूले लामो समयदेखि इटहरी २ को पिपलचौंक पूर्वतर्फको ग्राभेल सडक बर्सेनि बर्खा याममा डुवान हुने र हिँड्न नै नसक्ने अवस्था पुगको विषयलाई उजागर गर्न खोज्दा प्रहरी लगाई मेयरको सचिवालयले तानासाही व्यवहार देखाएको आरोप लगाइन् ।
सो बाटो मर्मतका विषयमा पटक पटक गाउँ र टोलमार्फत मेयर पौडेललाई भेट्न उपमहानगरपालिका जाँदा भेट्न नखोजेको समेत बताइन् । यो वडा मेयर पौडेलको आफ्नै वडा हो । मेयर पौडेलले भेट नदिएपछि सुनुवाइका लागि आफूले भिडियो बनाई टिकटकमा अपलोड गरी सार्वजनिक गरेको उनको भनाई छ । आफूले व्यक्तिगत फाइदाका लागि मात्र नभई सो बाटो आसपासमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको पिर मर्कालाई निरन्तर भिडियोमार्फत उजागर मात्र गरेको उनको दाबी छ ।
छलफलका क्रममा सचिवालयबाट सहभागी एडी दाहालले प्रहरीकै उपस्थितिमा मेयर पौडेल विरुद्ध कसैले पनि आलोचना गर्न नपाइने भन्दै अभियन्ता विष्टलाई हप्कीदप्की गरेका थिए ।
छलफलका क्रममा प्रहरी कार्यालयमा उपस्थित रहेका सबै जसोले विष्टले इटहरी उपमहानगरपालिका र मेयर पौडेलले गरेका गलत गतिविधिका विरुद्ध बोल्ने आँट गरेकोमा धन्यवाद दिँदै उनको पक्षमा बोलेका थिए ।
छलफलका क्रममा विष्टले भिडियो बनाउँदा प्रयोग गरिएका शब्दमा मात्र गल्ती भएको भन्दै मौखिक माफी मागे पनि मेयरको सचिवालय र प्रहरीको दबाबमा लिखित रूपमै माफी माग्न बाध्य बनाइएको थियो । छलफलमा सहभागी केही महिला अधिकारकर्मीहरूले स्थानीय सरकार र जनप्रतिनिधिहरू गलत कार्यका विरुद्ध बोल्न पाउनु पर्ने बताउँदै मौखिक माफी मागेकाले लिखित गर्न नपर्ने अडान लिएका थिए । तर,ती अधिकारकर्मीहरू छलफलबाट इलाका प्रहरी कार्यालय इटहरीबाट निस्केको केही समयमै दबाबमा उनलाई लिखित माफी माग्न बाध्य बनाइएको हो ।
स्रोतका अनुसार मेयर पौडेल भारतको तीर्थाटनबाट आई पुग्न साथ विष्ट विरुद्ध उनलाई सबक सिकाउने भन्दै सचिवालयलाई अगाडि सारेका थिए । मेयर पौडेलकै निर्देशनमा इलाका विष्ट विरुद्ध इलाका प्रहरी कार्यालयमा पाण्डेले उजुरी दिएका हुन् । विष्टले केही समय अघि अपलोड गरेको भिडियो एक लाख बढीले हेरिसकेको र भिडियोमा मेयरका विरुद्ध नकारात्मक कमेन्ट बढी आएको पाएपछि मेयर पौडेल अत्तालिएको स्रोतको दाबी छ ।
मेयरको आलोचना गर्ने युवती विष्टलाई पौडेलको निर्देशनमा सचिवालयले दिएको उजुरीका आधारमा प्रहरीले नियन्त्रण लिएको विषय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मेयर तानासाही बनेको भन्दै चर्को आलोचना सुरु भएको छ । साथै सामाजिक सञ्जालमा युवती विष्टका पक्षमा आवाज उठ्न थालेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राजेन्द्र पौडेलले मेयर पौडेलको सचिवालयबाट गाली गलौचको निवेदन आएपछि दुवै पक्षलाई बोलाएर छलफल गराएको बताए । छलफलका क्रममा विष्टले आफूबाट गल्ती भएको जनाउँदै लिखित रूपमै माफी मागेपछि उनलाई छाडिएको पौडेलले बताए ।