काठमाडौंः स्थानीय तहमा सुशासनको अवस्था हरेक वर्ष खस्कँदो देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अघिल्ला आर्थिक वर्षको तुलनामा आव २०८१–०८२ मा स्थानीय तहविरुद्ध उजुरीको क्रम बढेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहविरुद्ध मात्र दैनिक औसत ७८ वटा उजुरी पर्ने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आव २०८१–०८२ मा २८ हजार ५ सय ९७ नयाँ उजुरी परेका छन् । अघिल्लो आव २०८०–०८१ मा २६ हजार ९ सय १८ नयाँ उजुरी दर्ता भएका थिए ।

आयोगमा परेका कुल मुद्दाको ५३ दशमलव ८४ प्रतिशत अर्थात् १९ हजार ९ सय ३३ उजुरी स्थानीय तहका छन् । संघमा ४ हजार ४ सय ७५ र प्रदेशमा ४ हजार ४ सय १८ उजुरी परेको सूचना अधिकारी देवीप्रसाद थपलियाले बताए ।

तथ्यांकले अख्तियारमा उजुरी गर्ने दर बढेको पाइएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए । आव २०८१–०८२ मा आयोगले अघिल्लो आवबाट सरको ८ हजार ४ सय ७२ गरी कुल ३७ हजार २६ उजुरीमाथि कारबाही गरेको अख्तियारका सूचना अधिकारी देवीप्रसाद थपलियाले बताए ।

वेबसाइट, इमेल, ह्वाट्सएप र भाइवरबाट ६५ प्रतिशत उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो समय सूचना प्रविधिको आधुनिक माध्यम इमेल, वेबसाइट, ह्वाट्सएप र भाइवरबाट उजुरी गर्ने क्रम बढेको छ ।

आव २०८१–०८२ मा वेबसाइट, इमेल, ह्वाट्सएप र भाइवरबाट ६५ प्रतिशत अर्थात् २१ हजार २ सय २६ उजुरी प्राप्त भएका छन् । जसमा वेबसाइटबाट १० हजार २ सय ४५ र इमेलबाट ८ हजार ४ सय ८८ उजुरी प्राप्त भएको आयोगले जनाएको छ ।

यस अवधिमा ३५ दशमलव ५९ प्रतिशत अर्थात् १० हजार १ सय ८० लिखित उजुरी परेको छ । पछिल्ला समय ह्वाट्सएप, भाइवरलगायतका माध्यमबाट पनि उजुरी गर्न सकिने व्यवस्था गरेपछि उजुरीमा लिखितभन्दा सूचना प्रविधि माध्यम प्रयोग बढी भएको अख्तियारले जनाएको छ ।

स्थानीय तहका ६५ मुद्दामा ३ सय ४० प्रतिवादी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१–०८२ मा स्थानीय तहका ६५ मुद्दा दर्ता गरेको छ । अख्तियारका सूचना अधिकारी थपलियाका अनुसार दायर मुद्दामा ३ सय ४० प्रतिवादी छन् । स्थानीय तहमा गत आवको भन्दा मुद्दा वृद्धि भएको आयोगका सूचना अधिकारी थपलियाले बताए । आव २०८०–०८१ मा ३६ हजार १ सय ८६ उजुरी परेकामा ५२ दशमलव ८० प्रतिशत अर्थात् १९ हजार १ सय ६ उजुरी स्थानीय तहका थिए ।

पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

आर्थिक वर्षमा २०८०–०८१ मा स्थानीय तहमा सबैभन्दा बढी उजुरी पोखरा महानगरपालिकाको विषयमा परेको छ । एकै वर्ष पोखराका २ सय ७५ उजुरी परेका थिए । उपमहानगरपालिकातर्फ सबैभन्दा बढी उजुरी मधेश प्रदेशको जनकपुर उपमहानगरपालिकामा परेको थियो । जनकपुरमा १ सय २४ उजुरी परेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ ।

नगरपालिकातर्फ सबैभन्दा बढी उजुरी परेको मधेश प्रदेश बारा जिल्लाको पचरौता नगरपालिका रहेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ । पचरौतामा आव २०८०–०८१ मा २ सय ११ उजुरी एकै आवमा परेका थिए ।

यस्तै, गाउँपालिकातर्फ पनि मधेश प्रदेशको बारा जिल्लाको सुवर्ण गाउँपालिकामा सबैभन्दा बढी उजुरी परेको थियो । सुवर्ण गाउँपालिकामा आव २०८०–०८१ मा १ सय ८३ उजुरी परेका थिए । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो ।