विराटनगरः कानून व्यवसायी परिषदका अध्यक्ष तथा महान्यायाधिवक्ता केशव वडालले फौजदारी न्याय प्रणालीलाई थप ब्यबस्थित बैज्ञानिक, आधुनिक र पीडितमैत्री बनाउन फौजदारी संहितामा संशोधनको आबश्यकता रहेको बताएका छन् ।
उनले नवप्रवेशी कानून ब्यबसायीहरुको क्षमता विकास गराउन यस्ता कार्यक्रम संचालन गरिएको बताउदै तालिम सफलतापूर्वक सम्पन्न भएकोमा सहभागीहरूलाई धन्यवाद समेत दिए ।
मोरङ विराटनगरमा फौजदारी कानुनका विविध विषयको आधारभूत तालिमको समापन कार्यक्रममा बुधबार प्रमुख अतिथिको आशनबाट बोल्दै बडालले यस्तो बताएका हुन् ।
सहभागीहरूको तर्फबाट मन्तब्य राख्दै झापा बार एशोसिएसनकी सहसचिव तथा झापा बार महिला समिति अध्यक्ष अधिवक्ता सानु कार्की बस्नेतले यस्ता तालिमबाट फौजदारी कानुनका विविध विषयमा सहभागीहरूलाई महत्वपूर्ण शिक्षा, ज्ञान र क्षमता प्राप्त भएको छ भनी बताइन।
नेपाल बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा डा विजय प्रसाद मिश्रबाट १ श्रावणमा उद्दघाटन भएको फौजदारी कानून सम्बन्धी ७ दिने आधारभूत तालिम बुधबार सकिएको हो ।
तालिम समापन कार्यक्रम कानुन व्यवसाय परिषद कोशी प्रदेशका पार्षद राजु ढकालको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा उच्च अदालत विराटनगरका मूख्य न्यायाधीश राजन प्रसाद भट्टराई, कोशी प्रदेशका मूख्य न्यायाधिवत्ता तथा वरिष्ठ अधिवक्ता नारायण वस्ति, मोरङ बार एशोसिएसन अध्यक्ष हरिशंकर मण्डल, झापा बार एशोसिएसनका अध्यक्ष बसन्त नेपाल लगायत पूर्व पार्षद समेतको उपस्थिति रहेको थियो।
कानून ब्यबसायी परिषद अन्तर्गत लयर्स एकेडमी समितिको आयोजना र कानुन ब्यबसायी परिषद कोशी प्रदेश सम्पर्क कार्यालय विराटनगरको सह आयोजनामा उच्च अदालत बिराटनगर बार इकाइमा आयोजित कार्यक्रममा फौजदारी कानूनका विज्ञ प्रशिक्षक उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरू, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले प्रशिक्षण दिएका थिए । उक्त तालिममा मोरङ, सुनसरी, झापा लगायतका जिल्लाबाट ४५ जना भन्दा बढी नबप्रबेशि कानून व्यवसायीहरूको सहभागिता रहेको थियो ।