काठमाडौंः नेपालमा भएको राइट एण्ड रिसोर्स इनिसियटिभ अर्थात् आरआरआइको २० औं वार्षिकोत्सव भव्य र सभ्य रुपमा सम्पन्न भएको ठहर समीक्षा बैठकले गरेको छ । वन वातावरणसहित प्राकृतिक श्रोत र स्थानीय आदिवासी जनजाति समुदायको हकअधिकारका पक्षमा काम गर्ने विश्वव्यापी नेटवर्कमा आवद्द संस्थाहरुको नेतृत्व गर्दै आएको आरआरआइको नेपालमा वार्षिकोत्सव हुँदा स्थानीय आयोजक सामुदाायिक वन उपभोक्ता महासंघ थियो ।
३० जुनदेखि ३ जुलाइसम्म चलेको चार दिनको वार्षिकोत्सवमा विश्वका ६० भन्दा धेरै देशका सामुदायिक वन, स्थानीय समुदाय र आदिवासी जनजातिको हक अधिकारमा काम गर्ने संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । समीक्षा बैठकले वार्षिकोत्सव ऐतिहासिक बनेको र निकै सफल भएको ठहर गरेको फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले जानकारी दिए ।
समीक्षा बैठकमा स्थानीय आयोजक फेकोफनसहित सहजीकरणमा सघाएका सातवटै संस्थाहरुका प्रतिनिधिहरु सहभागि थिए। त्यस अवसरमा वार्षिकोत्सव सफल बनाउन खटिने सपोर्ट टिमका सदस्यहरुलाई धन्यवाद पत्र प्रदान गरिएको थियो ।आरआरआइको नेतृत्वले नेपालमा भएको वार्षिकोत्सव ऐतिहासिक भएको निष्कर्ष निकाल्दै फेकोफनसहितले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरेको छ । प्रतिनिधिहरुको नेपाल आगमनका क्रममा भएको स्वागत तथा समापनपछिको विदाई निकै राम्रो भएको ठहर गरिएको छ । यस्तै उद्घाटन सत्रका क्रमममा विभिन्न कला संस्कृतिसहित नेपाली मौलिकता झल्कने झाँकीहरुको प्रस्तुतिको उच्च मुल्यांकन प्रतिनिधिहरुले गरेका छन् । उद्घाटन सत्र समारोहदेखि विषयगत छलफलमा सहभागिता र उठेका विषयवस्तुहरुको गहनताको पनि प्रसंशा आरआरआइ टिमले गरेको छ ।
फेकोफनका अध्यक्ष ठाकुर भण्डारीको अध्यक्षतामा भएको पार्टनर मिटिङ र त्यहाँ भएका छलफलले आगामी दिनमा गर्नुपर्ने कामको योजनावद्द रणनीति बनाउन सहयोग पुगेको निष्कर्ष निकालिएको छ । नेपाली उत्पादनका स्टलहरु, नेपाली आतिथ्यता, विषयवस्तुको सार्थकता लगायत सबै हिसावले आरआरआइले वार्षिकोत्सव निकै सफल भएको निष्कर्ष निकालेको फेकोफनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले जानकारी दिए ।
वार्षिकोत्सव समारोह तथा छलफलमा सामुदायिक वन उपभोक्ता महासंघको अभियान र उपभोक्ता समूहहरुको गठन तथा कार्यप्रकृया विश्वकै लागि उदाहरणीय भएको भन्दै विश्वका प्रतिनिधिहरुले थप प्रभावकारी बनाउनेबारे पनि विभिन्न बहस र सुझावहरु दिनु नेपालको समग्र प्राकृतिक श्रोत क्षेत्र र फेकोफनका लागि पनि गौरवको विषय भएको सामुदायिक वन उपभोक्ता महासंघकी महासचिव पार्वता गौतमले बताइन ।