इटहरीः इटहरी उप महानगरका नगरप्रमुख हेमकर्ण पौडेलले इटहरी क्षेत्रको समग्र पत्रकारितालाई आक्षेप लगाउने गरि दिएको अभिव्यक्ति विरुद्ध नेपाल पत्रकार महासंघ सुनसरी आन्दोलित भएको छ । गत शुक्रवार बिहान नगरप्रमुख पौडेलले आफ्नो आधिकारिक फेसबुक पेजमा कुनै प्रमाणबिना नै इटहरीको समग्र पत्रकारिता ‘दानापानी नझरेपछि लाज छोप्न समाचार प्रकाशन गर्ने गरेको आरोप लगाएका थिए । उनले समग्रमा पत्रकारलाई लाञ्छना लगाएको तर प्रमाण नदिएको भन्दै पत्रकार महासंघ आन्दोलित भएको हो ।
बुधवार नगरप्रमुख पौडेललाई पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाउँदै आरोप पुष्टि गर्न चेतावनी दिएको छ । बिहीबार इटहरीमा सक्रिय तथा अग्रज पत्रकारहरूको भेला आयोजना गर्दै आन्दोलनको कार्यक्रम सशक्त बनाउने कार्यक्रम रहेको छ ।
इटहरीका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बौद्धिक समाज तथा सरोकारवाला निकायसँग प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा छलफल गर्ने, सूचनाको हक प्रयोग गर्दै इटहरी उपमहानगरपालिका भित्रका सूचना माग गर्नको लागि आह्वान गर्ने, नगरप्रमुख पौडेलले प्रतिनिधित्व गर्ने पार्टी नेपाली काँग्रेसको जिल्ला, प्रदेश र केन्द्रीय समितिमा ध्यानाकर्षण पत्र बुझाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रति आधिकारिक धारणा माग गर्ने लगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
पौडेलले शुक्रवार सामाजिक सञ्जालमा भोलि कुन विषयमा समाचार आउँछ अघिल्लो दिन हामीलाई थाहा हुन्छ , पहिला हाम्रो सचिवालय मा पठाउँछन्, केही झर्दैन दानापानी अनि लाज ले प्रकाशन, प्रसारण गछर्न, विचित्र को पत्रकारिता छ इटहरीमा भनेर लेखेका थिए । सो विषयमा पत्रकार महासंघले विज्ञप्ति निकाल्दै दानापानी माग्ने पत्रकारको नाम माग गरेको थियो ।
यसैगरी सुनसरीमा क्रियाशील पत्रकार जन्य संंगठनहरुले पनि विज्ञप्ति निकाल्दै मेयर हेमकर्ण पौडेलको अभिव्यक्त प्रति आपत्ती जनाएको छ । प्रेस युनियन सुनसरी, प्रेस चौतारी सुनसरी, प्रेस सेन्टर सुनसरी र आदिवासी जनजाति पत्रकार संघ फोनिज सुनसरीले नगरप्रमुख पौडेलले सार्वजनिक माफी माग्नु पर्ने माग गरेका छन् ।
नगर प्रमुख पौडेल र सचिवालय मार्फत पत्रकारकै बिषयमा विभिन्न खाले टिकाटिप्पणी गर्ने क्रम बढेको र कसैलाई फसाँउने प्रपञ्च समेत भईरहेको सूचना प्राप्त भएकाले त्यसबाट उत्पन्न परिस्थिती पनि स्वयम् नगरप्रमुखले व्यहोर्नु पर्ने संयुक्त विज्ञप्ती मार्फत भनिएको छ ।
मंगलबार मेयरको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाईमा जिल्ला अग्रज पत्रकारहरुसँग छलफल गरि महासंघका वर्तमान पदाधिकारीहरुले राय र सल्लाहा मागेका थिए ।