इटहरीः बहुप्रतीक्षित विराटनगरको रानीदेखि धरानसम्मको ४९ किलोमिटर ६ लेन सडक योजनामध्ये धरानमा भने काम अनिश्चित बनेको छ । निर्माणको कामका लागि हालसम्म छलफलसमेत भएको छैन ।

यो योजना पहिलोपटक आर्थिक वर्ष २०६९–७० मा सुरु गरिएको हो । कुल लागत लगभग १० अर्ब १७ करोड रुपैयाँ अनुमान गरिएको छ । विराटनगरको रानीदेखि धरानको जिरो प्वाइन्टसम्मको ४९ किलोमिटर सडकमध्ये हालसम्म ४४.२७५ किलोमिटर सडकमा ठेक्का लागेर काम भइरहेको छ । जसमध्ये कतिपय ठाउँमा पूर्ण रूपमा काम सम्पन्न भइसकेको छ । तर, धरान क्षेत्रमा ५ किलोमिटर सडक भने अझै अनिश्चित छ ।

रानी–विराटनगर–इटहरी–धरान सडक योजना कार्यालय इटहरीका अनुसार हाल २।५ किलोमिटर क्षेत्रमा काम भइरहेको छ । खासगरी दुहबी नगरपालिका क्षेत्रमा ६३० मिटर क्षेत्र अदालतमा मुद्दा परेपछि निर्माण अलपत्र थियो । तर, अदालतले सडकको पक्षमा फैसला गरेपछि अहिले काम भइरहेको छ ।

६ लेन सडक आयोजना कार्यालय इटहरीका इञ्जिनियर शम्भुकुमार मोचीकाअनुसार इटहरी–धरान खण्डमा रहेको सेउती पुल, दुहबी–विराटनगर खण्डमा रहेको बूढीखोला पुल, चारकोसे क्षेत्र र दुहबी क्षेत्रको सडक निर्माण भइरहेको छ । त्यसमध्ये कतिपय क्षेत्रमा भने निर्माण अन्तिम चरणमा रहेको उनको भनाइ छ ।

हाल दुहबीमा १,३५० मिटर, इटहरीमा ४०० मिटर र तरहरादेखि सेउतीसम्मको खण्डमा रनिङ ठेक्कामार्फत काम भइरहेको इञ्जिनियर मोचीले बताए । यद्यपि, इटहरीमा भने केही घर धनी निर्माणको बाधक बनेका छन् । मुख्य चौकमै विराटनगर लाइनमा रहेका घर धनीहरूले निर्माणमा बाधा पु¥याउँदा इटहरीको थोरै भाग निर्माण हुन सकेको छैन ।

डिफेक्ट लायबिलिटी पिरियड सकिएका ३२।८ किलोमिटर खण्डहरू सडक डिभिजन कार्यालय विराटनगरलाई हस्तान्तरण गरिसकिएको उनले बताए ।

इटहरीको पानीपियादेखि धरानको तीनकुनेसम्मको सडक भने कमसल निर्माण भएको भन्दै आलोचना भएको छ । यस बारे सडक आयोजना कार्यालयले भने बनिसकेको सडकमा निर्माण अझै बाँकी रहेको जनाएको छ । मोचीले भने, ‘सडक निर्माण भइसकेपनि डिभिएम र आसफाल्टले सडक छोप्नुपर्छ । सडकको माथि स्ट्रङ बनाउन अझै बाँकी छ ।’

खासगरी ०६९ सालमा ठेक्का लागेर निर्माण सुरु भएको ६ लेन सडकको काम अघिल्लो वर्ष नै सक्नुपर्ने हो । आयोजनाले पटकपटक म्याद थप गरेपनि हालसम्म निर्माण सम्पन्न भइसकेको छैन । तर, अब धरानको ५ किलोमिटरबाहेक अरू सबै क्षेत्रमा चालु आर्थिक वर्षभित्र काम सम्पन्न भइसक्ने आयोजनाको दाबी छ ।

ठेक्का लागेर कतिपय क्षेत्रमा यसअघि काम नहुनुको कारण भनेको ठेकदार कम्पनीकै दोष रहेकोसमेत आयोजनाको दाबी छ । एकपटक ठेक्का लागिसकेपछि उक्त योजना तोड्न नमिल्ने र तोडेको अवस्थामा कम्पनीले अदालतको आदेश ल्याउने भएकाले पनि कतिपय क्षेत्रमा ढिलो काम भएको आयोजनाको भनाइ छ ।

‘कतिपय ठाउँमा साइड क्लियरेन्स र जग्गा विवादले बेलैमा काम गर्न सकिएन,’ इञ्जिनियर मोचीले भने, ‘तर अब भने काम सम्पन्न गर्ने लक्ष्य छ । हालसम्म निर्माण भएका सडक हामीले सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिसकेका छौँ ।’

sadak_office_itahari-1024x512

खासगरी ०५९ सालको राजपत्रमै २५ मिटर छाडेर सडक बनाउनुपर्ने भएपनि दुहबीको बजार क्षेत्रमा भने ८.२३ मिटर मात्रै छाडेर बनाइएका कारण उल्झन आएको थियो ।

‘राष्ट्रिय राजमार्गमा २५ मिटर छाड्नुपर्ने र घरभन्दाबाहेक सडक सीमाअन्तर्गत ६ मिटर छाड्नुपर्ने भएपनि दुहबी क्षेत्रमा भने जम्मा ८.२३ मिटर मात्रै छाडिएको रहेछ,’ इञ्जिनियर मोचीले भने,, ‘कतैतिर १५ मिटर छाडिएको र कतै २५ नै मिटर छाडिएको थियो । १५ मिटर छाडेर घर बनाइएका क्षेत्रमा पनि काम सम्पन्न भइसकेको छ । अब दुहबीको थोरै क्षेत्रमा भएको समस्या पनि सम्पन्न हुन्छ । बाँकी धरानमा मात्रै समस्या छ ।’

धरानमा अनिश्चित

धरानको काम भने अनिश्चित छ । सडक निर्माणका लागि सडक आयोजनाले न धरान उपमहानगरपालिकासँग कुनै छलफल गरेको छ, न निर्माणका लागि पहल नै थालेको छ । बरू आयोजना कार्यालयले मेयर हर्क साम्पाङले सडक निर्माणमा चासो नदिएको भन्दै पन्छिने काम गरेको छ ।

मोचीकाअनुसार धरानको अन्तिम खण्ड अझै निर्माण हुन सकेको छैन । धरान खण्डको ठेक्का प्रक्रियामा प्रवेश नगरिएको र वैकल्पिक समाधान खोज्ने तयारी भइरहेको सडक डिभिजनले जनाएको छ ।

मुआब्जाको कुरा र साइड क्लियरिन्सको समस्याका कारण धरानमा ६ लेनको काम अगाडि बढ्न नसकेको आयोजना कार्यालयको दाबी छ । करिब डेढ वर्षअघि नै स्थानीय सरकारसहित सरोकारवाला निकायसँग बैठक बसेपनि काम गर्न नसकिएको योजना कार्यालयको भनाइ छ । ‘हाम्रो तथ्यांकअनुसार धरानमा एक हजार पाँच सय घर भत्किन्छ । ती घरहरू नभत्किएसम्म धरानमा साइड क्लियरेन्स नहुँदा काम गर्न सकिदैँन । यसका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्छ,’ इञ्जिनियर मोचीले भने ।

एकपटक घरहरूमा चिनो लगाउने काम पनि भएको तर मुआब्जा दिएको हो वा होइन भन्ने तथ्यांक नभएकाले पनि समस्या भएको उनको भनाइ छ । पूर्वकै मुख्य सहरका रूपमा रहेको धरानमा भने यो योजना कार्यान्वयन गर्ने विषयमा स्थानीय सरकार उदासीन हुनु र सडक योजना कार्यालयले समन्वय गर्न नसक्दा योजना नै गुमाउने निश्चितजस्तै बनेको छ ।

धरान उपमहानगरपालिकाका तत्कालीन मेयर तिलक राईले आयोजनाको काम तत्काल सुरू गर्नेगरी ६ लेन सडकलाई घटाएर ४ लेन बनाउन प्रयास गरेका थिए । उक्त प्रयास सहमतिनजिक पुगेको थियो । तर, धरानमा मेयर हर्कराज राई (हर्क साम्पाङ) आइसकेपछि भने यो काम अगाडि बढ्नेभन्दा पनि उदासीन हुँदा यस क्षेत्रमा सडक निर्माणको काम अनिश्चित भएको जानकारहरू बताउँछन् ।

धरान उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले भने सडक विभागसँग ठोस छलफल नै नभएको बताए । ‘यसअघि सडक विभागले क्लियर गरिदिनु भनेर पत्र मात्रै पठाएको थियो । कत्रो बनाउने, के बनाउने भन्ने’दयगत ठोस निर्णय वा छलफल भएको छैन,’ श्रेष्ठले राजधानीसँग भने, ‘यो सडक बनाउनुपर्ने नेपाल सरकारको सडक विभागले नै हो । तर, यहाँका जनतासँग छलफल गर्न जरूरी छ ।’

उनले कति फुटको सडक बनाउने भन्ने बिषयमा धराने जनतासँग व्यापाक छलफल गर्न आवश्यक रहेको बताए । उनले भने, ‘यो विषयमा उपमहानगरले मात्रै निर्णय गर्न सक्दैन । सबै जनतासँग छलफल गर्न आवश्यक छ ।’

धरानको जिरो प्वाइन्टसम्म सडक निर्माण हुनेगरी आयोजना सुरु गरिएको भएपनि ठेक्का लगाउने कुनै तयारी नहुँदा धरानले उक्त योजना गुमाउने निश्चितजस्तै बनेको हो ।

धरानको मुख्य बजार, बस्ती र अस्पताल क्षेत्रलाई छोएर निर्माण हुने यो मार्गले विकासको गतिलाई तीव्र पार्ने अपेक्षा गरिएको थियो। तर समन्वय र योजना बनाउने तहमा संवादको अभावले धरान विकासको महत्वपूर्ण अवसरबाट पछि पर्ने खतरा बढेको छ । ठूला परियोजनामा प्रारम्भिक चरणमै सहकार्य नहुँदा दीर्घकालीन क्षति हुने सम्भावना रहने जानकारहरू बताउँछन् । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो ।