इटहरीः टेम्केमैयुङ गाउँपालिकाको मात्र होइन भोजपुर जिल्लाकै इतिहासमा संस्कृतिसम्बन्धीको प्राज्ञिक एवम् अत्यन्त महत्त्वपूर्ण अनुसन्धनात्मक ग्रन्थ प्रकाशन भएको छ । 'टेम्केमैयुङ गाउँपालिकाको बृहत् सांस्कृतिक अध्ययन" शीर्षकको यस महत्त्वपूर्ण कृतिभित्र राई, क्षेत्री, बाहुन, विश्वकर्मा, नेवार, मिजार, तामाङ, परियार, भुजेल, मगर, गुरुङ र सन्यासी जातिको सांस्कृतिक इतिहासको अन्वेषण गरिएको छ । यसका साथै यस कृतिभित्र टेम्केमैयुङ गाउँपालिकामा बसोबास गर्ने यी सम्पूर्ण जातिका मानिसले अवलम्बन गर्दै आएका वर्तमान सांस्कृतिक अवस्थाको समेत खोजी गरिएका छन् । यसका अतिरिक्त यस कृतिभित्र टेम्केमैयुङ गाउँपालिकाको नौ वटै वडामा अवस्थित धार्मिक, सांस्कृतिक, पुरातात्त्विक, ऐतिहासिक स्थलहरुको समेत खोज अन्वेषण गरिएको छ ।
नेपाली समाजमा शदिवौंदेखि शिव, गणेश, सरस्वती, देवी, सिमेभूमे, कुलकुलायन, पित्री, प्रकृति, चुला, पञ्चतत्त्व आदि अलौकिक एवम् अज्ञात शक्तिहरुको पूजाआजा गरिदै आएका पाइन्छ । यधपि ती देवीदेवताको स्थापना कहिले, कोद्वारा भयो?, ती देवीदेवतालाई कहिलेदेखि किन र कसरी पूजाआजा गरिन थालियो । उनीहरुबारे कुनकुन ग्रन्थमा केके उल्लेख गरिएका छन् भन्नेबारे आम जनतालाई थाहा हुँदैन । आम सर्वसाधारण त के हामीले स्थलगत अध्ययन गर्दा स्वयम् पूजारी, नाक्छोङ, माङ्पा, लामा, पास्टर आदिलाई समेत यीबारे थाहा नभएको जानकारी प्राप्त भयो ।
टेम्केमैयुङ गाउँपालिकामा सयौं वर्षदेखि पुजिदै आएका एक कन्या देवी, तीन कन्यादेवी, पाँचकन्या देवी कोको हुन? ती देवीहरुको धार्मिक, सांस्कृतिक इतिहास र महत्त्व के छ? भन्नेबारेमा स्वयम् पुजारीहरुलाई समेत जानकारी नभएको बुझिएकोले आम सर्वसाधारण जनतालाई मात्र होइन गुम्बा, विहारका लामा, मन्दिरका पुजारी, मङ्खिमका माङ्पा, चर्चका पास्टरलाई समेत उपयोगी होस् भनेर यस कृतिमा गणेश, शिव, विभिन्न देवदेवी आदिको परिचय प्रस्तुत गरिएको छ ।
यसरी नै यस कृतिभित्र सिकारी पूजा, कुलपूजा, गोठपूजा, वायुपूजा, सिमेभूमेपूजा, नागनागिनी पूजा, भीमसेन पूजा, देवाली ( मष्टो) पूजा, साखेवा/ साकेला पूजा, पित्री पूजा आदिको परिचय दिइएको छ । यसका अतिरिक्त यस महत्त्वपूर्ण कृतिभित्र बौद्ध गुम्बा, माने, विहार, चैत्य, मन्दिर, माङ्खिम, चर्च आदि देवस्थलहरुको समेत परिचय प्रस्तुत गरिएको छ ।
यसका अतिरिक्त यस कृतिभित्र टेम्केमैयुङ गाउँपालिकाको सबै वडाको समृद्धिको आधार के हुन सक्छ? यसबारेमा समेत महत्त्वपूर्ण सुझाव पेस गरिएको छ । यति मात्र होइन यस कृतिभित्र टेम्केमैयुङ गाउँपालिकाको सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरु, सम्पूर्ण कर्मचारीहरुको परिचय समेत उल्लेख गरिएका छन् । ग्रन्थ डा. भक्त राई र शुभ मुकारुङले लेखेका हुन् ।