धरानः  धरान उपमहानगरपालिकामा पछिल्ला केही दिनयता देखिएको असहज राजनीतिक र प्रशासनिक माहोलले नगरको समग्र गतिको दिशा नै अस्थिर बनाएको छ । मेयर हर्कराज राई (हर्क साम्पाङ) र उपमेयर आइन्द्र विक्रम बेघाबीच विवाद चुलिएको छ ।

साम्पाङले अघि सारेको जनश्रमदान अभियानमा जनसहभागिता र विकासको वैकल्पिक मोडेलको रूपमा लिइएपनि उक्त अभियानमाथि पछिल्लो समय पारदर्शिता, स्रोत परिचालन र विधि उल्लंघनका गम्भीर आरोपहरू लागेका छन् ।

श्रमदानमार्फत नगरको विभिन्न भागमा सडक निर्माण, फलामे जाली जडान, ढल व्यवस्थापनजस्ता कामहरू भइरहेका छन् । यिनै कामहरूमध्ये भुक्तानी प्रक्रिया अघि बढाउन मेयर साम्पाङले उपमेयर बेघालाई निर्देशन दिए । तर उपमेयरले हस्ताक्षर गर्न अस्वीकार गरे । बेघा भन्छन्, ‘श्रमदान निःशुल्क हो भने भुक्तानी किन रु स्रोत स्पष्ट छैन, प्रक्रियागत निर्णय पनि छैन । म यसमा हस्ताक्षर गर्न सक्दिन ।’

सोही विषयलाई लिएर सोमबार मेयर समर्थक श्रमदाताहरूको समूहले उपमहानगरस्थित उपमेयरको कार्यकक्ष घेराउ ग¥यो । यति मात्र होइन, स्काभेटर र डोजरको चाबी माग्दै मेयर पक्षधरहरूले कार्यकक्षमै प्रवेश गरेपछि स्थिति झनै तनावग्रस्त बनेको छ । बेघाको पक्षमा नेकपा माओवादी केन्द्र निकट समूह उत्रिएपछि झडपको अवस्था आयो । सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय धरानका सुरक्षाकर्मीहरूले दुवै पक्षलाई अलग राखेर आन्दोलन तत्कालका लागि टारेको छ ।

मेयर साम्पाङले धरान १६ मा निर्माणाधीन बहुभाषिक पाठशालालाई संरक्षण गर्न श्रमदानको रकम अनुगमन गरी रकम निकासा गर्न र धरान १६ मै ग्याबिन जाली राख्न श्रमदानबाट गरिएको कामको डोर हाजिर बनाएर भुक्तानी मागिएपछि बेघाले हस्ताक्षर गरेका थिएनन् । कानूनविपरीत निकासाका लागि दबाब दिएको र आफूले अनुगमन र समर्थन गर्न नसक्ने अडान राख्दै बेघाले हस्ताक्षर नगरेपछि सोमबार साम्पाङ पक्षधरले बेघाको कार्यालय घेराउ गरेका थिए ।

dharan-birodh-1024x461

‘श्रमदान भन्दै गरिएको कामको स्रोत स्पष्ट छैन । बजेटबाट हो कि बाह्य सहयोगबाट, भन्ने थाहा छैन । यस्तो अपारदर्शी अवस्थामा म जिम्मेवारी लिन सक्दिन,’ उपमेयर बेघाले भने, ‘श्रमदानको नाममा नगर सम्पत्तिको प्रयोग मनोमानी ढंगले भइरहेको छ । कुनै निर्णय नै नभई काम भइरहेको छ ।’

पालिकाको डोजर, स्काभेटरको चाबी मेयर साम्पाङ र उनका कार्यकर्ताले जथाभावी प्रयोग गर्न थालेपछि दुरुपयोग रोक्न केही दिनदेखि आफूसँग भएको र कार्यालयको चाबी कसैलाई दिन रोक लगाएको बेघाा बताउँछन् । मेयर साम्पाङले जनश्रमदानको नाममा बिल भुक्तानी गर्न भन्दै उपमेयर बेघालाई हस्ताक्षर गराउन खोजेको र बेघाले हस्ताक्षर नगरेपछि साम्पाङ पक्षधरहरूले घेराउ गरेका थिए । उपमेयर बेघाले सार्वजनिक स्रोत र पारदर्शिताको अभाव औँल्याउँदै हस्ताक्षर गर्न अस्वीकार गरेपछि मेयर साम्पाङले आफ्ना श्रमदाताहरू बोलाएर कार्यकक्षबाहिर दबाब सिर्जना गरेको आरोप लागेको छ ।

upameyar-aaindra-bikram-begha-1024x576

विवादको मूल जड भने नगरपालिकाको स्काभेटर, डोजर, जेसिबी, टिपरजस्ता भारी उपकरणहरू श्रमदानको नाममा प्रयोग भइपछिको भुक्तानीको माग हो । उपमेयर बेघाकाअनुसार यस्ता सार्वजनिक उपकरणहरू प्रयोग गर्नुअघि निर्णय, पारदर्शिता र स्रोत व्यवस्थापन आवश्यक हुन्छ । ‘यहाँ न कुनै नीतिगत स्पष्टता छ, न त लेखाजोखा,’ बेघा भन्छन्, ‘नगर सम्पत्तिको दुरुपयोग रोक्न केही दिनदेखि स्काभेटर र डोजरको चाबी मैले नियन्त्रणमा लिएको छु । तर त्यसकै प्रतिक्रिया स्वरूप मेयर समर्थकहरू आक्रामक ढंगमा मेरो कार्यकक्षमा आए ।’

श्रमदान लोकप्रिय, तर सन्देहग्रस्त

सडक सुधार, खुला दिसामुक्त अभियान, ढल व्यवस्थापनजस्ता अभियानमार्फत मेयर साम्पाङले श्रमदानलाई लोकप्रिय बनाएका हुन् । तर यही मोडेलमा पछिल्लो समय चन्दा संकलनको अपारदर्शीता, स्रोत अस्पष्टता, र विधिसम्मत निर्णयबिना काम भइरहेको भन्ने गुनासो चुलिँदै छ ।

एक स्थानीयले भने, ‘श्रमदानको नाममा काम गरिन्छ, तर त्यसमा नगर स्रोत प्रयोग हुन्छ । चन्दा कहाँबाट आउँछ, कसरी खर्च हुन्छ, जनताले थाहा पाउँदैनन् ।’

बजेट निर्माणमा असर, योजनाहरू अलपत्र

विवादको सबैभन्दा गम्भीर असर अब बजेट निर्माण प्रक्रियामा देखिन थालेको छ । आर्थिक वर्ष २०८२–८३ को नीति, कार्यक्रम र बजेटको तयारीका बेला मेयर र उपमेयरबीचको संवादहीनता र द्वन्द्वले कार्यपालिका तहमा ठूलो असर पारेको छ ।

एक कार्यपालिका सदस्य भन्छन्, ‘बजेट ल्याउने बेलामा नेतृत्वबीच समन्वय छैन भने नगरको विकास कसरी अगाडि बढ्छ ? यसरी त सबै योजना ठप्प हुन्छन् ।’

खासगरी गत जेठ १६ को बाढी आएको समयमा उपमेयरले मेयरसँग सात दिनसम्म सम्पर्क गर्न खोज्दा प्रतिक्रिया नआएको गुनासो गरे । उल्टै मेयरले उपमेयरले सहयोग नगरेको आरोप लगाइरहेका उनको भनाइ छ ।

योजना, बजेट, कार्यान्वयन सबै प्रक्रिया नेतृत्वको सामूहिकतामा निर्भर हुन्छ । तर धरानमा नेतृत्वबीचकै चर्को टकरावले अब नगर कार्यपालिकाभित्रैको सन्तुलन खलबलिने खतरा उत्पन्न गरिदिएको छ । सोमबार ‘हर्क साम्पाङ मुर्दावाद’, ‘दादागिरी बन्द गर’, ‘बिना निर्णय श्रमदानको बिल पास हुँदैन’ भन्ने नाराले अब शक्ति सन्तुलनकै लडाइँमा मोडिएको संकेत गर्छ ।

WhatsApp Image 2025-06-17 at 21.39.00_217bfff3

नगरको कार्यशैली, जनविश्वास र विकासको गतिको सन्दर्भमा धरानमा पटकपटक आलोचना हुँदै आएको छ । मंगलबार पनि उपमहानगर परिसरमा यस विषयले प्राथमिकता पाएपछि विवाद उत्कर्षमा पुगेको छ ।

मंगलबार मेयर साम्पाङले पत्रकार सम्मेलन गर्दै आरोपमा उत्रिए । उपमेयरले ‘राजनीतिक उक्साहटमा’ लागेर काममा सहयोग नगरेको, अवरोध गरेको र नगरको सम्पत्तिमा अनाधिकृत हस्तक्षेप गरेको साम्पाङले आरोप लगाए । ‘उपमेयरले नगरपालिकाको डोजर र टिपरको चाबी खोसेर लगे। फिर्ता लिन प्रहरी पठाउँदा पनि फोन उठाएनन्,’ मेयर साम्पाङले पत्रकार सम्मेलनमा भने, ‘यसरी नगर सम्पत्तिमा हस्तक्षेप गर्नु मिल्दैन ।’

साम्पाङले श्रमदान अभियानलाई जनसहभागिताको उदाहरणको रूपमा प्रस्तुत गर्दै आएका छन् । खासगरी धरानमा मेयर र उपमेयरबीचको लफडा पटकपटक हुँदा कार्यपालिका बैठक, नगरसभासमेत अनिर्णयको बन्दी बन्दा कयौँ योजनाहरू अलपत्रजस्तै छन् । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो ।