इटहरीः  आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति निर्माणका लागि नेपाल राष्ट्रबैंकले आफ्नो  तयारी थालेको छ ।  

केन्द्रीय बैंकले सरोकारवालाहरुबाट सुझावहरु संकलन गर्ने लगायतका आन्तरिक तयारीहरु सुरु गरेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।  

पूर्वतयारी स्वरुप राष्ट्रबैंकले एक सूचना प्रकाशित गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सर्वसाधारणहरुबाट समेत सुझावहरु मागेको छ ।

बैंकको आर्थिक अनुसन्धान विभागले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तर्जुमाको लागि राय सुझाव भए उपलब्ध गराइदिन आग्रह गरेको छ । विभागले त्यस्ता राय सुझाव आगामी असार १० गतेभित्र इमेल ठेगानामा उपलब्ध गराइदिन भनेको छ ।  

960-NRB(5)

राष्ट्रबैंकले प्रत्येक वर्षको मौद्रिक नीति निर्माण गर्दा सर्वसाधारणहरुबाट समेत सुझावहरु माग्ने गरेको छ । त्यसबाहेक केही खास सरोकारवालाहरुसँग उसले छलफल कार्यक्रमहरु समेत राख्ने गरेको छ । कतिपयले भने मौद्रिक नीति केन्द्रीत छलफल आयोजना गरी त्यहाँ आएका सुझावहरु एकीकृत गरी केन्द्रीय बैंकलाई बुझाउने गरेका छन् । 

धनगढीको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेललेकोभिडपछि अर्थतन्त्रमा केही समस्या देखा परेको भन्दै उनले आगामी मौद्रिक नीतिमार्फत सुधारको प्रयास गरिने जानकारी दिए ।

जनताको सल्लाह र समस्याका आधारमा आफूले मौद्रिक नीति बनाउने उनको भनाइ छ । उनले ऋणीप्रति बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीको व्यवहार सुमधुर नभएको गुनासो सुन्दै आएको बताउँदै गभर्नर पौडेलले त्यस्तो व्यवहार परिवर्तन गर्न सुझाव दिए । उनले भने “ऋणीलाई गाली गर्ने, धम्काउने तथा विभिन्न प्रकारका डर देखाउने कार्य कदापि नगर्नुहोस्,” ।