काठमाडौँः लागुऔषधको कारोबार र प्रयोग सहरी क्षेत्रबाट क्रमशः गाउँसम्म फैलिन थालेपछि रोकथामका लागि प्रभावकारी कदम चाल्नुपर्ने देखिएको छ । लागुऔषधको कुलतमा फस्नेहरूमा १५ देखि २५ वर्ष उमेर समूहका युवा रहेको पाइएको छ । लागुऔषध कुलतले परिवार र समाजलाई नै आक्रान्त पार्न थालेपछि रोकथामका लागि सामूहिक प्रयास आवश्यक देखिएको हो । पछिल्लो पाँच वर्षमा लागुऔषध कारोबार, ओसारपसार र प्रयोग झन्डै १० प्रतिशत वृद्धि भएको पाइएको छ ।
आव २०७६/७७ मा लागुऔषध कारोबार र ओसारपसारमा संलग्न चार हजार ५४६ जना पक्राउ परेकामा १४९ जना विदेशी रहेका थिए । उनीहरूको साथबाट प्रहरीले चार हजार ३३५ केजी गाँजा, ५९९ केजी चरेस, दुई केजी हेरोइन, ४० केजी अफिम, १४ केजी कोकिन, एम्पेटामाइन छ केजी, इफिड्रिन चार केजी र फर्मास्युटिकल ड्रग्स (औषधीका रूपमा प्रयोग हुने)तीन लाख ३५ हजार ७१० थान बरामद गरेको थियो । त्यसको पाँच वर्षपछि अर्थात् आव २०८१/८२ को दस महिनामा लागुऔषध कारोबारमा संलग्न छ हजार २५२ जना पक्राउ परे । तीमध्ये २५७ जना विदेशी छन् । प्रहरीले उनीहरूको साथबाट गाँजा ३७ हजार ४६३ केजी, चरेस ४८८ केजी, हेरोइन आठ केजी, अफिम ११६ केजी, कोकिन १५ केजी, पोल्यान्ड २० केजी र फर्मास्युटिकल ड्रग्स तिस लाख ५६५ थान बरामद ग¥यो । बरामद फर्मास्युटिकल ड्रग्स र गाँजा परिणाम झन्डै १० गुणा बढी हो ।
नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा लागुऔषध कारोबार बढ्दै जाँदा अधिकांश युवा पुस्ता नै दुव्र्यसनको सिकार बनिरहेको बताउछन् । थापाका अनुसार मुलुकको समुन्नति, मुलुकको विकास र समाज रूपान्तरणका संवाहक युवा नै दुव्र्यसनको सिकार हुनु दुःखद हो । लागुऔषधको ओसारपसार नियन्त्रणका लागि नेपाल प्रहरीले विशेष महाअभियान नै सञ्चालन गरिरहेको बताउँदै थापाले भने, “लागुऔषधको कुलतले मुलुकको भविष्य नै खतरामा पर्न सक्छ, समयमै यसको नियन्त्रणका लागि सामूहिक प्रयास जरुरी छ ।” लागुऔषधको कुलतमा झन्डै ८० प्रतिशत युवा रहेको र दुव्र्यसनले युवापिँढीको भविष्य अन्त्य गर्नुका साथै ठुलो धनराशि नेपालबाहिर गइरहेको पनि उनले बताए ।
लागुऔषध दुव्र्यसनीको पुनस्र्थापनाका लागि क्रियाशील अन्तर्राष्ट्रिय संस्था नार्कोनन दक्षिण एसिया प्रमुख वसन्त कुँवरले लागुऔषधको कारोबार र प्रयोग विगतमा सहरकेन्द्रित हुने गरेकामा पछिल्लो समय ग्रामीण सडक सञ्जाल विस्तारसँगै ग्रामीण बस्तीमा बढ्दो व्यापारीकरण देखेर लागुऔषधका कारोबारीहरूले आफ्नो सञ्जाल त्यतातर्फ विस्तार गरिरहेको बताए । सरकारी तथ्याङ्क अनुसार नेपालमा लागुऔषधको प्रयोगकर्ताको सङ्ख्या एक लाख ३४ हजार रहेको छ । कुँवर भने यो सङ्ख्या सात लाखभन्दा बढी रहेको र यो बढ्दो क्रममा रहेको दाबी गर्नछन् ।
उनले प्रभावकारी रोकथामका लागि पहिला दुव्र्यसनमा पर्न नदिने, परेकालाई पहिचान गर्ने, पहिचान भएकालाई सही परामर्श गरी व्यवस्थापन गर्ने र दुव्र्यसनीलाई उचित पुनस्र्थापना गरे मात्र कारोबार र ओसारपसार नियन्त्रण गर्न सकिने कुँवरको सुझाव छ । लागुऔषध नियन्त्रण ब्युरोका पूर्वनिर्देशक हेमन्त मल्लले ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरू देशविदेशमा आउजाउ गर्ने क्रम बढ्दै जाँदा लागुऔषधको कारोबार र कुलत गाउँसम्म फैलिँदै गएको बताए। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।