काठमाडौंः गृहमन्त्री रमेश लेखकले सप्तरीस्थित सप्तकोशीमा सशस्त्र प्रहरी बल नेपालका दुई सशस्त्र प्रहरी जवान ९गोताखोर० बेपत्ता घटनाबारे दुःख व्यक्त गरेका छन् ।
शुक्रबार बिहान हल्चोकस्थित सशस्त्र प्रहरी प्रधान कार्यालय पुगेर गृहमन्त्री लेखकले उक्त घटना सम्बन्धमा विस्तृत जानकारी समेत लिए । उनले अभ्यासका क्रममा ज्यान गुमाएका राष्ट्रसेवकको शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अपनाउन जरुरी रहेको बताए । “शोकलाई शक्तिमा बदल्दै थप सचेत भएर काम गर्न आग्रह छ,” गृहमन्त्री लेखकले भने, “खतराजन्य उद्धारमा खटिने जनशक्तिको जीवन बिमाबारे मन्त्रालयले थप कार्य गर्नेछ ।”
उनले खतराजन्य उद्धारमा खटिने प्रहरी कर्मचारीको बिमालगायत विषयमा थप बजेटका लागि मन्त्रालयले प्रयास गर्ने बताए । उनले यसप्रकार घटना पुनरावृत्ति नहुने गरी सबै कुराको यथेष्ट ध्यान पुर्याएर गर्नुपर्नेमा समेत जोड दिए ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी नदीमा बिहीबार अपराह्न मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरी जवान हरदेव राजवंशी र सुरज साउँद (गोताखोर) बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बलले घटनाबारे जानकारी दिँदै बेपत्तामध्ये हरदेवको शव आज बिहान घटनास्थलदेखि करिब तीन किलोमिटर तल स्थानीयले देखेपछि सशस्त्र प्रहरीलाई खबर प्राप्त भएको जनाइएको छ। अहिले हरदेवको शव परीक्षण प्रक्रियाका लागि राजविराज पुर्याइएको छ ।
मन्त्री लेखकले बेपत्ता जवान साउँदको खोजीमा कुनै कसर बाँकी नराख्न आग्रह गर्दै त्यसका लागि प्रदेश सरकारसित पनि आवश्यक समन्वय गर्न निर्देशन दिए ।
राजवंशी श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा र साउद १३ नं गण पर्सा दरबन्दी भई छिन्नमस्ता वाहिनी मुख्यालयमा कार्यरत थिए । रासस