हिलेः धनकुटाको पाख्रिबास नगरपालिकाले पाँच वर्षअघि ठुलो उत्साह र आशाका साथ सुरु गरेको कफी विकास कार्यक्रम अलपत्र परेको छ । नगरपालिका तथा प्रदेश सरकारले गरेको एक करोड रुपियाँभन्दा बढीको लगानी बालुवामा पानी झैँ भएको छ । नगर र प्रदेश सरकार मिलेर एक करोड ३२ लाख रुपियाँ खर्च गरिएको पाख्रिवासको कफी योजनामा अहिले न बिरुवा बाँकी छ, न त पूर्वाधार नै काम लाग्ने अवस्थामा छन् ।
यो कार्यक्रम २०७७ सालमा तत्कालीन नगरप्रमुख वृषबहादुर राईका पालामा सुरु गरिएको थियो । नगरपालिकाले झन्डै ३२ लाख रुपियाँ अनुसन्धान, बिरुवा उत्पादन, नमुना कफी बगान र अन्य तयारीमा खर्च गरेको थियो । प्रदेश सरकारबाट आएको एक करोड रुपियाँ कफी प्रशोधन भवन, हाइटेक नर्सरी र पहुँचमार्ग निर्माणमा प्रयोग गरिएको थियो ।
तथापि अहिले करिब पाँच लाख बिरुवा झाडीमा परिणत भएको छ । ६० रोपनीमा लगाइएको नमुना कफी बगान नष्ट भइसकेको छ । कफी प्रशोधनका लागि निर्माण गरिएको भवन र हाइटेक नर्सरी तोडफोड हुँदा कामै नलाग्ने अवस्थामा पुगेको छ । धनकुटाको पाख्रिबास नगरपालिकाले पाँच वर्षअघि ठुलो आशाका साथ सुरु गरेका कार्यक्रममध्ये कफी कार्यक्रम एक हो । पूरै पालिकालाई कफीमय बनाउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम पालिकाको नेतृत्व परिवर्तन भएसँगै जीर्ण अवस्थामा छ । पुरानो नेतृत्वले अघि बढाएको काममा नयाँ नेतृत्वले अपनत्व ग्रहण नगर्दा एक करोड ३२ लाख रुपियाँ स्वाहा भएको छ ।
कफी कार्यक्रम अघि बढाउन तथा हुर्किएका बिरुवा व्यवस्थापन गर्न पटक पटक आग्रह गर्दा पनि वर्तमान जनप्रतिनिधिले बेवास्ता गरेको पाख्रिबास नगरपालिका–८ का निवर्तमान वडाध्यक्ष सीताराम राई बताउछन्। बिक्री गर्ने अवस्थाका करिब पाँच लाख बिरुवा काम नलाग्ने अवस्थामा पुगेको उनको भनाइ छ ।
तत्कालीन प्रमुख राईले पूर्वाधार निर्माणका लागि पालिकालाई चार रोपनी जग्गा दिएर भवन तथा हाइटेक नर्सरी निर्माण गरिएको थियो । त्यस्तै नमुना बगान प्रमुख राईकै बारीमा बनाइएको आरोप तथा यो कार्यक्रममा भ्रष्टाचार भएको भन्दै २०७९ सालमा अख्तियारमा उजुरी पर्यो ।
त्यसै वर्ष ज्ञानबहादुर गुरुङ प्रमुखमा निर्वाचित भएपछि नयाँ नेतृत्वले यो योजनाको मुद्दा अख्तियारमा परेको भन्दै कुनै पनि काम अघि बढाएन । त्यस्तै कफीका लागि तयार गरिएको पूर्वाधारलगायतको पालिकाको सम्पत्ति संरक्षणमा समेत पालिकाले अहिलेसम्म चासो देखाएको छैन । जसले गर्दा अहिले सबै पूर्वाधार जीर्ण अवस्थामा छन् ।
कफी प्रशोधन भवनका लागि बनेको भवनका झ्यालढोका फुटिसकेका छन् । भवन बन्द गरेर पालिकाले चाबीसम्म लगाएको छैन । यता हाइटेक नर्सरीमा प्रयोग हुने धेरै संरचना भत्किइसकेका छन् । अन्य पूर्वाधारमा समेत धेरै क्षति पुगिसकेको छ ।
पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ अख्तियारमा उजुरी परेकाले आफूहरूले हात नहालेको बताउछन् । “यो हामी आउनुभन्दा पहिले सुरु भएको योजना हो पछि यो योजनाबारे अख्तियारमा उजुरी पर्यो । उजुरी परेको काममा हामीले हात हालेनौँ,” गुरुङ भन्छन् । अख्तियारले मुद्दाको छिनोफानो नगरेका कारण समस्या भएको भन्दै उनले अख्तियारले यो मुद्दा चाँडो टुङ्ग्याइदिए काम गर्न सजिलो हुने दाबी गरे ।
यता अख्तियारले भने उजुरी परे पनि अख्तियारले काम अघि बढाउन नरोकेको जनाएको छ । अख्तियारका सूचना अधिकारी देवीप्रसाद थपलियाले अख्तियारमा उजुरी परे पनि आफूहरूले काम रोक्न नभनेको, पत्राचार नगरेको बताउछन् । “हामीले उहाँहरूलाई काम रोक्न पत्राचार गरेको छैनौँ उहाँहरूले काम अघि बढाउन सक्नुहुन्छ,” थपलियाले भने ।
निवर्तमान प्रमुख वृषबहादुर राईले भने यो योजना बाँझो जमिनमा कफी खेती बढाउने उद्देश्यले सुरु गरिएको र यसले समग्र पालिकालाई फाइदा पुग्ने भएकाले यो कार्यलाई निरन्तरता दिनुपर्ने माग राख्दै आएका छन्। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।