सिमेन्ट उद्योगका लागि ढुङ्गा परीक्षण
- माघ १, २०७५
- प्रदेश पोर्टल
खोटाङः सिमेन्ट उद्योग सञ्चालनका लागि खोटाङको बोझेओढारमा ढुङ्गा परीक्षण शुरु गरिएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र वडा नं ५ दुर्छिमको सिमानामा पर्ने बोझेओढारमा खानी तथा भूगर्भ विभागको प्राविधिक टोलीले परीक्षण शुरु गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तीन वर्षे कार्यक्रमअनुसार विभागबाट खटिएका प्राविधिक टोलीले ढुङ्गा परीक्षण शुरु गरेको नगर प्रमुख इवन राईले बताए ।
सो क्षेत्रमा पर्याप्त मात्रामा चुनढुङ्गा रहेकाले ड्रिलिङ मेशिनको प्रयोग गरेर करीब ७५ मिटर तलको ढुङ्गा निकालेर परीक्षण गर्ने काम भइरहेको बताइएको छ ।
भूगोल सर्भेक्षण, ढुङ्गा स्याम्पलिङ र छुट्टाछुट्टै ४ ठाउँमा ड्रिलिङ गर्ने काम भइरहेको उनले बताए । प्रारम्भिक रिपोर्टअनुसार सिमेन्ट उद्योग सञ्चालनका लागि बोझेओढारमा रहेको चुनढुङ्गा उपयुक्त हुने अनुमान गरिएको बताइएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने बोझेओढारको तीन वर्गकिलोमिटर क्षेत्रफलको ढुङ्गा परीक्षण भइरहेको प्राविधिक टोलीको भनाइ छ ।
अधिकांश सार्वजनिक जग्गामा रहेको उक्त चुनढुङ्गा खानी सिमेन्टका लागि १ नम्बर प्रदेशकै सबैभन्दा उपयुक्त रहेको बताइएको छ । गत मंसीर २८ गतेदेखि विभागबाट खटिएको प्राविधिक टोलीले तीन महिनासम्म सोही ठाउँमा रहेर ढुङ्गा परीक्षण गर्ने जनाइएको छ । विभागबाट उपसचिव दिनेशकुमार नापितको नेतृत्वमा खटिएको नौ जना प्राविधिकसहित २३ जनाको टोली बोझेओढारमै पाल टाँगेर बसेको बताइएको छ ।
३ महिनासम्मको स्थलगत अध्ययन तथा परीक्षणपछि प्राविधिक टोलीले विभागमा प्रतिवेदन बुझाउने जनाइएको छ । प्राविधिकले बुझाएको प्रतिवेदनको आधारमा सिमेन्ट उद्योग सञ्चालनको काम अगाडि बढाइने नगर प्रमुख राईले बताए । बोझेओढार लगायत जिल्लाका अधिकांश ठाउँमा रहेको चुनढुङ्गा खानीलाई अधिकतम प्रयोग गरेर उद्योग सञ्चालन गर्न पहल गरिएको सांसद विशाल भट्टराईले बताए ।