उदयपुरः उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बाढीको उच्च जोखिममा परेको छ । सदरमुकाम गाईघाट छेउ बाट बग्ने बरुवा खोला जिल्लाको सदरमुकाम समेत रहेको गाईघाट बजार तर्फ सोझिएपछि गाईघाट बजार यतिबेला बाढीको उच्च जोखिममा परेको हो ।

त्रियुगा नगरपालिका वडा नम्बर १० सिमलाटारस्थित गाईघाट दिक्तेल सडक खण्डको बरुवा खोला पुला नजिक बाट नदी तीव्र कटान सहित गाईघाट तर्फ सोझिएको छ भने सोही स्थान भन्दा अन्दाजी पाँच सय मिटर तल नगरकै वडा नम्बर ११ स्थित ढिम्की पिकनिक स्पोर्ट नजिक बाट तीव्र कटान सहित नदी बजार क्षेत्र तर्फ सोझिन थालेपछि यति बेला गाईघाट क्षेत्र बाढीको चपेटामा पर्न सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ ।

सोमबार रातीबाट अविरल आएको वर्षा पश्चात् नदीमा आएको बाढीले यस अघि लगाइएको बाँध भत्काएर नदी बस्तीतर्फ सोझिएपछि मङ्गलवार दिनभर त्रियुगा नगरपालिकाको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्रियुगा नगरपालिकाको नगर प्रहरी, स्थानीय टोल बासी सहितको टोलिले अस्थाई स्कोर बनाएर कटान रोकथामको प्रयास गरेका थिए ।

यसवर्षको मनसुन सुरु नहुँदै सदरमुकाम समेत रहेको गाईघाट बजार बरुवा खोलाको उच्च जोखिममा परेपछि मङ्गलवार दिउँसो एमाले उदयपुरका अध्यक्ष भागवत राउतको पहलमा कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री एकराज कार्की, उपसभामुख सृजना दनुवारले नदीले कटान गरेको क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। 

मन्त्री कार्की र उपसभामुख दनुवार सहित त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, उपप्रमुख महेश्वरी राई, एमाले अध्यक्ष भागवत राउत लगायतको टोलीले सदरमुकाम क्षेत्र सहित आसपासका जोखिम युक्त क्षेत्रको अवलोकन गरेका हुन । उनीहरूले त्रियुगा नगरपालिका वडा नम्बर २ को बबिया र लुहाले, वडा नम्बर ६ मोहनपुरको गेरुवाई खोलाको जोखिम युक्त क्षेत्रको समेत अवलोकन गरेका थिए ।

अवलोकन पश्चात् मन्त्री कार्कीले छोटो प्रतिक्रिया दिँदै कटान क्षेत्रको नियन्त्रणका लागि प्रदेश सरकारले तत्काल केही बजेट व्यवस्थापन गर्ने बताए । उनले यतिबेला प्रदेशको १४ वटै जिल्लामा जोखिम बढेको भन्दै तत्काल ठुलो काम गर्न नसकिने भएकोले रोकथामको लागि प्रदेश सरकारले सक्ने  सबैखाले विकल्प अपनाउने बताए । मन्त्री कार्कीले स्थानीय सरकार अहिले तत्काल गर्दै आएको आपतकालीन सहयोगमा प्रदेश सरकारले पनि साथ दिने बताए।