तराईको गर्मी यो साताभर लम्बिने, काठमाडौंमा लगातार उच्च तापक्रम

इटहरीः पश्चिमबाट बहने हावाले छेकिदिँदा मनसुनी प्रणाली कोशी प्रदेशको पूर्वी भेगमै खुम्चिएको छ । जसकारण स्थानीय मौसमी गतिविधिका कारण वर्षा भएबाहेक क्षेत्रमा चर्को गर्मी छ । 

हिन्द महासागरमा विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वबाट बहने मनसुनी वायु तीन दिनअघि २८ जेठमा कोशी प्रदेशको पूर्वी भेगमा पुगेको थियो । तर, तीन दिनसम्म पनि झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र संखुवासभामा मात्र केन्द्रित छ । 

यसमा पनि त्यहाँका पहाडी क्षेत्रमा सक्रिय भएर मनसुनी वर्षा सुरु भएको छ । ‘मनसुनको हावा दक्षिण–पूर्वबाट पश्चिम बहन्छ, तर अगाडि सर्न बाटो खुलेको छैन, पश्चिमी वायु ९पश्चिमबाट बहिरहेको हावा० ले अवरोध गरिरहेको छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भने, ‘त्यही भएर मनसुन देशभर फैलिन नसकेको हो ।’

मौसम पूर्वानुमान महाशाखाले मनसुन कहिलेसम्म देशभर फैलिसक्छ भनी जानकारी दिएको छैन । मनसुनी वायु काठमाडौं क्षेत्रमै पुग्न यो साताभर कुर्नुपर्ने पनि हुन सक्ने देखिएको छ । आइतबारसम्म मनसुन काठमाडौंलगायत क्षेत्रसम्म फैलिन सक्छ । पश्चिमी वायु निष्क्रिय नभई मनसुन अगाडि बढ्न सक्दैन, पश्चिम नेपालसम्म पुग्न अर्को साता लाग्न सक्छ । 

गत वर्ष भारतको सिक्किम क्षेत्रमा पुगेको तीन दिनमै मनसुन गण्डकी प्रदेशसम्म पुगेको थियो । त्यतिखेर नियमित प्रक्रियाभन्दा पनि साइक्रोन नामक आँधीले धकेलेर पुर्‍याएको थियो, त्यसैको असरस्वरूप पश्चिम नेपालसम्म फैलिन २२ दिन लागेको थियो । ‘यसपटक मनसुन सिक्किम पुगेको ११ दिनसम्म पनि बागमती, गण्डकी पुग्न सकेको छैन, तीन दिनदेखि कोशीको पूर्वी भेगमा मात्र सीमित छ,’ जलवायुविज्ञ धर्मराज उप्रेती भन्छन्, ‘तत्काल देशभर फैलिन सक्ने स्थिति पनि छैन ।’  भारतको जल तथा मौसम विज्ञान विभागले पनि दिल्ली क्षेत्रमा जुन २९ सम्म मनसुन पुग्ने आकलन गरेको छ । 

तराईको गर्मी यो साताभर लम्बिने

तराई र उपत्यका क्षेत्रको गर्मी भने यो साताभर लम्बिने देखिएको छ । तराईमा मनसुनको असर तत्काल नपर्ने र अन्य मौसमी गतिविधि पनि त्यस क्षेत्रमा सक्रिय नभएकाले चर्को घाम लाग्दा गर्मीले जनजीवन प्रभावित भएको छ । आगामी चार–पाँच दिन सुदूरपश्चिम र  लुम्बिनीका तराई तथा उपत्यका क्षेत्र, बागमतीको चितवनसहित पश्चिमी क्षेत्र र मधेशको धेरैजसो भागमा तापक्रम उच्च हुन सक्ने देखिएको छ ।

लुम्बिनी र सुदूरपश्चिमका तराईमा त पछिल्लो दुई सातादेखि तातो हावा र तातो हावाको लहर कायमै छ । बुधबार धनगढीको तापक्रम ४३।९ डिग्री सेल्सियम मापन भएको छ । नेपालगन्जमा ४२।२ र भैरहवामा ४०।४ डिसे मापन भएको छ । त्यस्तै, उपत्यकाहरू दिपायलमा ४०।८, वीरेन्द्रनगरमा ४१।१ र घोराहीमा ३९।५ डिसे मापन भएको छ । सबैभन्दा धेरै सोमबार धनगढी र टीकापुरमा ४४ र मंगलबार नेपालन्जमा ४३।६ डिसे मापन भएको थियो ।

पश्चिम तराईभन्दा कम तापक्रम भए पनि मध्य र पूर्वी तराईमा समेत चर्को गर्मी छ । बुधबार सिमरामा ३८।७, विराटनगरमा ३४।८, धरानमा ३५।४ र  जनकपुरमा ३७।८ डिसे मापन भएको छ । ‘पूर्वी र मध्य तराईमा तातो हावा नचले पनि गर्मी भने धेरै नै छ । पश्चिम तराईको हावामा जलवाष्प छैन, त्यही भएर तातो हावा चलिरहेको हो । पूर्वी तराईमा चलिरहेको हावामा जलवाष्प ९चिसो हावा० त छ, तर तातेको ठाउँमा थोरै पानी हाल्दा जस्तो तातो महसुस हुन्छ, त्यस्तै भइरहेको छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटुवालले भने ।

काठमाडौंमा लगातार उच्च तापक्रम

वर्षा नहुँदा काठमाडौं उपत्यकामा लगातार उच्च तापक्रम मापन भइरहेको छ । बुधबार काठमाडौंको अधिकतम तापक्रम ३४।३ र न्यूनतम २१।८ डिसे मापन भएको छ । मंगलबार ३३।२ र सोमबार ३४।४  डिसे थियो । काठमाडौंमा यस वर्ष १७ र १९ जेठमा पनि ३४।४ डिसे मापन भएको थियो । मौसमविद् गोविन्द झाका अनुसार काठमाडौंमा बादल लागेर हल्का वर्षा हुन सक्ने देखिए पनि तत्काल ठूलो वर्षाको सम्भावना छैन । 

स्थानीय मौसमी गतिविधिले केही क्षेत्रमा वर्षा 

मनसुन अगाडि बढ्न नसके पनि स्थानीय वायुका कारण बुधबार कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा वर्षा भएको छ । कास्की, लमजुङ, सिन्धुपाल्चोक, दोलखा र सिन्धुली क्षेत्रमा वर्षा भएको छ । 

हाल कोशीको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहारआसपास बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । बिहीबार कोशी प्रदेश तथा बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ ।