इटहरी । सुनसरीमा सुरक्षा निकायले तस्करी नियन्त्रणमा उल्लेख्य सुधार आएको दाबी गरिरहँदा पटाकाजन्य सामाग्रीहरू भित्रिरहेका छन् । हाल सुनसरीको इनरुवा, इटहरी, दुहबी र धरानका बजारहरूमा सहजै पटाका खरिद गर्न सकिन्छ भने साँझ परेपछि पटाका पड्केको आवाजले स्थानीयहरू आजित बनिरहेका छन् ।
पटाका भारतबाट तस्करी भई नेपाल भित्रने गर्छ । हाल सुनसरीमा जनपद प्रहरी तर्फ नयाँ एसपी केशव कुमार थेबे आएका छन् । थेबे आएको २० दिन बढी भइसकेको छ । उनले तस्करीजन्य कार्य नियन्त्रणमा ‘निर्मम’ भएर लाग्न सीमा इन्चार्जहरूलाई निर्देशन दिएका थिए । तर अहिले तिनै इन्चार्जहरूको कार्य क्षेत्रमा पर्ने नाकाहरूबाट पटाकाजन्य सामाग्री तस्करी भई जिल्लाका बजारहरूमा खुलेआम पटाका खरिद बिक्री भइरहेका छन् ।
स्रोतका अनुसार सबैभन्दा बढी भन्टावारि, लौकही, उल्टी, कप्तानगंज र घुस्की नाकाबाट पटाका सुनसरी भित्रिएको दाबी गरिएको छ । रातको समयमा तस्करहरूले पटाका अत्यधिक भित्राइरहेको सूचना कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा समेत पुगेको छ । कपडा, खाद्यान्न तथा अन्य सामाग्री भन्दा तिहारमा पटाकामा फाइदा हुने भएकाले अहिले तस्करहरूले पटाकाजन्य सामाग्रीहरू तस्करी गरी ल्याउने गरेका छन् । जसमा सीमाको फ्रन्ट लाइनमा खटिने सशस्त्र प्रहरी बलको भूमिकामाथि समेत शङ्का गरिएको छ ।
त्यसो त, सशस्त्र प्रहरी र जनपद प्रहरी सुनसरीका विभिन्न नाका र बजारबाट लाखौँ मूल्यका पटाका नियन्त्रणमा लिएका छन् । तर नियन्त्रणमा लिएको भन्दा कयौँ गुना बढी परिमाणमा पटाका भित्री सकेको र भित्रने क्रममा रहेको स्रोतको भनाई छ । कतिपय तस्करीहरूले दसैँको बिचमै ठुलो परिमाणमा पटाका भित्राउने गरेका छन् । भारतबाट खरिद गरेर नेपालमा बिक्री गर्दा झन्डै ५० प्रतिशत नाफा हुने भएकाले तस्करहरू तिहारको अघि पटाका तस्करीमा सक्रिय हुने गर्छन् । तिहार भरी र छठ पर्वसम्म आतिशबाजी गर्नको लागि पटाका पड्काउने गरिन्छ ।
एसपीलाई झुक्याउदै इन्चार्जहरू
सुनसरीका सीमा नाकाहरूमा कार्यरत प्रहरी इन्चार्जहरूले आफ्नै ‘रिस्क’ मा पटाका ल्याउने तस्करहरूलाई ‘साथ’ दिइरहेका छन् । जिल्लाका घुमुवाहरूसँग पनि समन्वय गरेर पछिल्लो हप्ता भन्टावारि, लौकही, उल्टी, कप्तानगंज र घुस्की नाकाबाट पटाका भित्रिएको थियो । जुन कुरा एसपीलाई जानकारी दिइएको थिएन । इनरुवा बसपार्क स्थित एक होटेलमा ३ जना तस्करहरूले जिल्लाका पुराना घुमुवा मध्येका दुई जनालाई पैसा दिएको स्रोतको दाबी छ । पछि त्यही घुमुवाहरूले ३ जना मध्येका एक जनाको करिब ३ लाख रुपैयाँ बराबरको पटाका नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बुझाएका थिए ।
पैसा खाएर पनि पूंन पटाका नियन्त्रणमा लिएपछि प्रहरीले दोहोरो चरित्र देखाएको भन्दै अहिले यो विषय तस्करी गर्ने व्यापारी र घुमुवाबिच विवाद बढ्दै गएको छ । घुमुवा प्रहरीले विवाद गर्ने एक व्यापारीलाई ‘अब कसरी काम गर्छस्, हेरौला !’ भनेर धम्काएको समेत आरोप छ ।
स्रोतको दाबी अनुसार इनरुवाको होटेलमा दुई घुमुवाले बुझेको उक्त रकम केही इन्चार्जहरूले समेत पाएका थिए । पुराना घुमुवा र पुराना प्रहरी इन्चार्जसँग निकट रहेका व्यापारीले मात्र यो पल्ट पटाका भित्राएको बाँकी अरू व्यापारीको प्रहरीले काम देखाउनलाई सामान नियन्त्रणमा लिएको स्रोतको भनाई छ ।
बरामद पटाका आधा मात्र सार्वजनिक
जिल्ला प्रहरी कार्यालय सुनसरी र सशस्त्र प्रहरीका विभिन्न विओपीले बरामद गरेको पटाका आधा मात्र सार्वजनिक गरिँदै आएको छ । बरामद आधा पटाका घुमुवा र प्रहरीहरूले आफै घर लैजाने गरेका छन् । त्यस्तै जनपद र सशस्त्रका प्रमुखहरूको निर्देशनमा आधा बढी पटाका जिन्सी शाखामै राखेर बाँकी सार्वजनिक गर्ने गरेका छन् । पछि पत्रकारलाई मेल गरिएका विवरणका पटाका समेत गायब हुने गरेका छन् । घुमुवा र अन्य प्रहरी अधिकृत मार्फत प्रहरीका प्राय आफन्तहरूले पटाका माग्ने गरेका छन् ।
नियम पूर्वक पटाका कानुनी प्रक्रिया पुराएर नष्ट गरिनछ । तर सुरुको बरामदी सङ्ख्यादेखि नष्ट गरुनजेल सम्मको पटाकाको परिणाम घटेर निकै कम हुन्छ । ‘तिहारको कोसेली’ पठाउने काममा समेत बरामदी पटका प्रयोग हुने गरेको छ ।
पटाकाजन्य सामाग्री तस्करीमा प्रहरीले पछिल्लो हप्तामा ठुलो परिमाणमा पटाका बरामद गरेको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेबेले खुल्ला सीमाको कारण पटाका नियन्त्रण गर्न केही चुनौती भएको बताए । त्यस्तै जनशक्ति कमीले सीमामा पर्याप्त प्रहरी परिचालन गर्न नसकेको कारण छिटपुट तस्करी भएको हुन सक्ने उनको भनाई छ । साथै तस्करीको विषयमा घुमुवा प्रहरीको संलग्नता कतै भए कारबाही हुने एसपी थेबेले स्पष्ट पारे । ‘हामीले घुमुवामा बसेका केही प्रहरीको निगरानी समेत गरिरहेका छौ’ थेबेले प्रदेश पोर्टलसँग भने ‘शङ्कास्पद गतिविधिमा कतै जोडिए तत्काल कारबाही गछौ ।’