बेलबारीः उपचार अभावमा मृत्युसँग लडिरहेका एकै परिवारका दिदीभाइको उपचार हुन थालेको छ । बेलबारी नगरपालिका वडा नम्बर ९ का स्थानीय नलबहादुर धिमालकी २२ वर्षीया छोरी आस्मा र ८ वर्षीय छोरा अमित धिमालको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हुन थालेको हो ।
आजदेखि उनीहरूको उपचार हुन थालेको छ । उनीहरू जन्मिएको केही महिनापछि जीउमा सेतो दुबी देखा परेको थियो । उपचार गराउन आर्थिक अभावले नसकेको समयमा उनीहरूको उपचारमा बेलबारी नगरपालिकाले सहयोग गर्ने जनाइसकेको छ । दुबी शरीरभर फैलिएको र घाउसमेत हुन थालेकोको देखेपछि उनीहरूलाई उपचारमा लैजान हामीले आग्रह गर्यौँ’, बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले भने, ‘उपचार गर्ने खर्च समेत छैन भनेपछि नगरपालिकाले उपचार गरिदिन्छ भनेर पठाएका हौँ ।’
उपचार गर्न नसक्दा दिदीभाइको आँखाको ज्योति नै गुम्ने खतरा रहेको सुवेदी बताउँछन् । आस्मा जन्मिएको ६ महिना र अमित जन्मिएको ३ महिनापछि उनीहरूको शरीरमा सेतो दुबी आएको बाबु नलबहादुर बताउँछन् । ५ जना सन्तानमध्ये अन्य ३ जनामा समस्या नरहेको उनले बताए ।