इटहरीः विभागीय टिम नेपाल पुलिस र आर्मी इटहरीमा जारी दोस्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । आइतबार भएको पहिलो सेमीफाइनल खेलमा विजयी भएको नेपाल पुलिस क्लबसँगको उपाधी भिडन्त पक्का गर्न आर्मीले गण्डकी प्रदेशमाथि सहज जीत निकाल्न सफल भयो ।

पहिलो सेमीफाइनल खेलमा पुलिसले एपीएफलाई ३–१ को सेटले पाखा लगायो । पुलिसले शुरुका २ सेटमा एपीएफविरुद्ध २५–१६ र २५–२१ को सहज जीत निकाल्दा तेस्रो सेटको खेलमा अग्रता जोगाउन सकेन । तेस्रो सेट एपीएफले २५–१७ ले आफ्नो पक्षमा पा¥यो । अधिकांश दर्शकको साथ पाएको पुलिसले चौथो सेटको खेलमा उत्कृष्ट पुनरागमन जमाउँदै २५–२१ ले आफ्नो पक्षमा पार्न सफल भयो । अघिल्ला खेलमा उत्कृष्ट खेलेका एपीएफका खेलाडी पुलिसविरुद्ध हाबी हुन नसक्दा फाइनलमा स्थान बनाउन सकेन ।

आइतबार नै सम्पन्न अन्तिम सेमीफाइनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै पुलिससँगको उपाधी भीडन्त पक्का गरेको छ । अधिकांश राष्ट्रिय खेलाडी सहभागी गराएको आर्मीले गण्डकी प्रदेश विरुद्ध २५–२०, २५–११ र २५–२० को सहज जीत निकाल्न सफल भयो । पुलिस र आर्मीबीचको उपाधी भीडन्त सोमबार दिउँसो हुने आयोजक सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनुरोध थापाले जानकारी दिए । त्यसअघि बिहान तेस्रो स्थानको लागी एपीएफ र गण्डकी प्रदेशबीच प्रतिष्पर्धा गराइने थापाले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाख नगद पुरस्कार पाउने छन् । यस्तै तेस्रो हुने टिमले नगद १ लाख पाउनेछ । विधागततर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २४ इन्चको एलईडी टिभी प्रदान गरिनेछ ।

यस्तै, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भरलाइ जनही नगद रु. ५ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । राष्ट्रिय खेलकुद परिषद्को संरक्षणमा आयोजना भएको प्रतियोगिताको व्यवस्थापक तथा प्रवद्र्धक सुनसरी जिल्ला भलिबल सङ्घ र सहयोगी संस्थाको रूपमा इटहरी उपमहानगरपालिका, पूर्वाञ्चल भलिबल सङ्घ प्रदेश नम्बर १ र प्रगति समाज सेवा क्लब इटहरी रहेका छन् ।