सिन्धुपाल्चोकः साबिक हगाम गाविस ७, हाल जुगल गाउँपालिका ७ स्थायी घर भई भोटेकोशी गाउँपालिका स्थित तातोपानी बजारमा मजदुरी गरी बसेका २० वर्षीय कुमार तामाङलाई सिमा सुरक्षाका लागि तातोपानीमा रहेको सशस्त्र प्रहरीले गिरफ्तार गरी लगेकोमा हालसम्म अवस्था अझै अज्ञात रहेको बेपत्ताका दाजु छिरिङ तामाङले बताए ।
बेपत्ता तामाङलाई ०७१ चैत ११ गते बेलुका आफ्नै डेरामा बसेको अवस्थामा गिरफ्तार गरेको बेपत्ताकी पत्नी डोल्मा तामाङले बताइन । सँगै बसेको पतिलाई प्रहरीले गिरफ्तार गरी लगेको तीन दिनपछी भेट्न जाँदा भेट गर्न नपाएपछि बेपत्ता बनाएको थाहा पाएको पत्नी डोल्माले उल्लेख गरिन । बेपत्ता भएका आफन्तका खोजीको माग गर्दै पीडित पक्षले ०७१ चैत्र १५ गते अरनिको सडक अन्तर्गत तातोपानी खण्ड बन्द गराएर विरोध प्रर्दशन गरेका थिए । तत्कालीन अवस्थामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्त्वमा चैत १६ गते घटना छानबिन समिति समेत बनेको थियो ।
जिल्ला स्तरमा बनेको छानबिन समितिले उल्लेखनीय काम गर्न नसकेपछि पीडित पक्षको मागलाई सम्बोधन गर्न भन्दै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान महाशाखाका तत्कालीन डिआइजी नवराज सिल्वालको संयोजकत्त्वमा उच्चस्तरीय छानबिन समिति समेत बनेको थियो । सो समितिले घटनास्थलको आनुसन्धान गरी गृहमन्त्रालयमा प्रतिबेदन बुझाएको भनिएको थियो तर सो प्रतिबेदन पनि हालसम्म सार्वजनिक हुन सकेको छैन ।
त्यतिखेर ०७२ सालको भूकम्पले घटनालाई ओझेलमा पारेको भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी गोकर्णमनी दुवाडीले इन्सेकलाई जानकारी दिए । घटना भएको १० वर्ष बित्न लाग्दा पनि बेपत्ता आफन्तको अवस्था सार्वजनिक नहुनुमा दुःख लागेको बेपत्ता कुमार तामाङकी पत्नी डोल्मा तामाङले बताइन ।
                    
        
        
                            
                                                            
        



















