बीरेन्द्रनगर : जाजरकोट आसपासलाई केन्द्र बनाएर शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ३७ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । 

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिसचन्द्र शर्माका अनुसार जाजरकोटमा मात्र ३७ जनाको मृत्यु भएको पुष्टि भएको र पुष्टि हुन बाँकी थप ४३ जनाको पनि मृत्यु भएको विवरण प्राप्त भएको छ । 

थप विवरण आएको ठाउँमा प्रहरी परिचालन गरी पुष्टि हुने क्रम जारी छ । उनले भने, 'अहिलेसम्म ३७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । ८ जना गम्भीर घाइतेलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । जिल्ला सदरमुकामको अस्पतालमा झण्डै १ सय बढीको उपचार भइरहेको छ ।गाउँमा पहिरो आएर सडक अबरुद्ध भएकाले गाउँबाट घाइतेको उद्धारका लागि हेलिकोप्टर माग गरी गृहमन्त्रालयमा पत्राचारी गरी समन्वय भइरहेको छ । 

यस्तै भूकम्पबाट रुकुमपश्चिममा पनि अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । रुकुमपश्चिमका प्रमूख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार जिल्लाको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । 

थप विवरण पनि आउँने क्रम जारी छ । भूकम्पमा परी दुईवटा पालिकामा ५३ जना घाइते भएका हुन् । घाइतेहरुको मिसन अस्पताल चौरजहारि, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

उद्धारको टोली जाजरकोट जाँदै

जाजरकोट र रुकुमपश्चिममा भुकम्पमा परेका नागरिकको उद्धारका लागि दुवै जिल्ला प्रहरी प्रमुख, इलाका प्रहरी प्रमूखहरुको नेतृत्वमा उद्धारका लागि प्रहरी परिचालन भएका छन् ।

अन्य सशस्त्र प्रहरी र नेपाली सेना पनि साथमा छ । कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकालले भने,' जिल्लामा रहेको प्रहरी जनशक्तिका साथै थप ६० जनाको टोली सुर्खेतबाट पठाइएको छ । मुगुबाट म पनि भुकम्प प्रभावित क्षेत्रमा जाँदैछु । घाइतेहरुको उद्धारका लागि सुर्खेतबाट एम्बुलेन्स पनि पठाइएको छ ।

यता भूकम्पमा परी जाजरकोटमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ। १०० बढी घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। घाइतेमध्ये ७ जनालाई थपउपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ।अन्नपूर्ण पोष्टबाट