काठमाडौंः  काठमाडौंको गोठाटारमा तीन राउण्ड गोली चलेको छ । गोलीबाट एक जना भारतीय नागरिक घाइते भएको प्रहरीले जनाएको छ ।

काठमाडौं-३ गोठाटारमा लागू औषधको कारोबार भइरहेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरीमाथि करिब साढे एक बजे लागू औषध कारोबारीले आक्रमण गर्दा प्रहरीले जवाफी कारबाही गरेको हो ।

जवाफी कारबाहीमा भारत वेष्ट बङ्गाल नक्सलबारी घर भएका ४८ वर्षीय मोहमद करिमको दाहिने खुट्टामा गोली लागेको छ। घाइते करिमलाई कान्तिपुर अस्पतालमा उपचार गराइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी (प्रहरी बरिष्ठ उपरिक्षक) दिनेश राज मैनालीले बताए  ।

मैनालीका अनुसार घटनामा संलग्न झापाको कचनकवल-८ का ३७ वर्षीय हर्क लिम्बुलाईसमेत लागू औषध जोख्ने तराजुसहित नियन्त्रणमा लिइएको छ । घटनास्थलबाट तीन राउण्ड गोली, एक नाल पेस्तोल र दुई सय ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसमेत बरामद गरेकाले  थप अनुसान्धन गरिरहेको प्रहरीले जनाएको छ ।