गोठगाउँः पूर्वाञ्चल विश्वविद्यालयको २५ औँ वार्षिकोत्सव विराटनगरमा मनाइने समाचार आएपछि सुन्दरहरैचा नगरपालिकाले गोठगाउँमा नै विश्वविद्यालयको रजत महोत्सव आयोजना गर्न माग गरेको छ ।
नगरकार्यपालिकाको बैठक बसी बुधबार पत्रकार सम्मेलनको आयोजना गरी रजत महोत्सव गोेठगाउँमा गर्न माग गरेको हो । सुन्दरहरैँचा नगरपालिकाका मेयर शिव ढकालले पत्रकार सम्मेलनमा विश्वविद्यालयले २५ वर्ष पार गर्दा सम्म स्थायी रूपमा स्तान्तरण नभएको भन्दै खेद प्रकट गरेका छन् । नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पूर्वाञ्चल विश्वविद्यालय स्थापनाको २५ वर्ष पार गरिसक्दा पनि स्थायित्व, आवश्यक ऐन, कानुन निर्माण र परिमार्जनका साथ अघि बढी आम जनतालाई आशाको सञ्चार प्रेरित हुन्छ भन्ने लागेको थियो ।’
पुस १९ गते रजत महोत्सव हुन लाग्दैछ भन्ने बुधबार मात्रै थाहा पाएको मेयर ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । बुधबार नै सुन्दरहरैंचा नगरपालिकाको बैठक बसी कार्यपालिका निर्णयले गम्भीर आपत्ति प्रकट गर्दै विश्वविद्यालयमाथि यसका पदाधिकारीबाट भएका हर्कत खेदजनक भएको निर्णय गरेको छ । रजत महोत्सवको भोलि राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।