इटहरीः थारुहरुको संस्कार र संस्कृतिसँग जोडिएको ग्रामथानको संरक्षणको माग राख्दा ग्रामथान नै हटाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्धा पुगेको थारु अगुवाहरुले बताएका छन् । 

ब्ुाधबार संवाद समुह इटहरीको संयोजनमा ग्रामथान संरक्षण समिति सुनसरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थारुहरुका अगुवाहरुले उक्त चिन्ता व्यक्त गरेका हुन । 

मानव जीवनका जन्मदेखि लिएर मृत्यु सम्मका संस्कार गर्न थारुजातिको लागि ग्रामथान महत्वपुर्ण भएकाले त्यसको संरक्षणमा स्थानीय सरकारले भुमिका खेल्नुपर्ने र संस्कार तथा संस्कृतिको संरक्षणमा समेत चासो देखाउनु पर्ने उनिहरुको धारणा थियो । 

पत्रकार सम्मेलनमा बोल्दै ग्रामथान संरक्षण समुह सुनसरीका सल्लाहाकार पदम अधिकारीले इटहरी र रामधुनी नगरभित्र रहेका ग्रामथानहरुको सुचिकरण गर्न र त्यसको संरक्षणका लागि व्यवस्थापकिय रुपमा अगाडि बढ्नुपर्ने बताए । 

ग्रामथान संरक्षण समिति सुनसरीका अध्यक्ष तेज नारायण चौधरीले दशकौँ देखि ग्रामथान संरक्षणको मुद्धा उठाउँदा पनि समाधान नभएको बताए । उनले सुनसरी जिल्लामा ४ सय देखि ५ सय वटा ग्रामथान रहेको भएता पनि अहिले धेरै लोप भइसकेको र बचेका ग्रामथान पनि सांस्कृतिक रुपमा थारु जातिको नयाँ पुस्तालाई हस्तान्तरण नभएको गुनासो गरे । उनले नयाँ पुस्ताका थारु समुदायमा समेत ग्रामथान र थारु समुदायले गर्ने पुजा आजको सन्दर्भमा बिचलन रहेकाले पुस्तान्तरण समस्या आएको अध्यक्ष चौधरीको भनाई थियो । 

यता थारु संस्कृतिका विज्ञ रामसागर चौधरीले भने थारु समुदायको हरेक पर्व र पुजा आजा समेत ग्रामथानसँग जोडिएकाले त्यसको संरक्षणमा सबैले चिन्तित हुनुपर्ने भनाई राखेका थिए । 

326567586_896338491711792_4750906697765016506_n

पछिल्लो समयमा भुमाफियाहरुले थारुहरुका ग्रामथानहरु अधिक्रमण गर्ने र त्यहाँ प्लटिङ्ग गर्ने ग्रामथान तथा पुजा गर्ने ठाउँको संरचना अर्को ठाउँमा सारिदिने जस्ता क्रिया कलाप बढेको हुँदा यसको संरक्षण चुनौति थपिएको बताइएको थियो । कार्यक्रममा आफ्नो भनाई राख्दै पत्रकार सुनिल चौधरीले ग्रामथानको संरक्षणको आवाज उठाउँदा कतिपय अवस्थामा मुद्धा लगाउने सम्मको धम्कि र खप्की खानुपरेको दृष्टान्त प्रस्तुत गरेका थिए ।

रामधुनी नगरपालिका भित्र मात्रै थारुहरुका ८० देखि ९० वटा ग्रामथान रहेको संरक्षण समितिद्धारा जारि गरीएको विज्ञप्तीमा उल्लेख गरिएको छ । आफुहरुले लोपोन्मुख अवस्थामा रहेका ग्रामथानहरुको संरक्षणको लागि आवाज उठाउँदा गाली गलौज तथा झुठा मुद्धा लगाउने सम्मका धम्किहरु खप्नुपरेको र यस बिषयमा रामधुनी नगरका राजनितिक दल र सामाजिक संस्था समक्ष समेत छलफल र ज्ञापन पत्र बुझाउने काम भइसकेको भए पनि कतैबाट चासो व्यक्त नभएको संरक्षण समिति बताउँछ । 

थारु हरुको आस्थाको केन्द्रको रुपमा रहेको ग्रामथानको संरक्षण गरिदिन भन्दै समितिले रामधुनी नगरपालिकाका मेयर र उपमेयरलाई समेत ७ बुँदे माग पेश गरेको छ । 

उनिहरुले राखेको मागमा ग्रामथान, डिहिबार थान र सो संग जोडिएको सांस्कृतिक भुमिलाई पहिचान गरी सुचिकृत गर्न र नीति निर्माण गरी दिर्घकालिन समाधान गर्न माग गरेको छ । यस्तै ग्रामथानसँग जोडिएको प्रथाजनिक कानुन गहदार , जेवार तथा अन्य कार्यलाई लागु गर्न र नगरभित्रका ग्रामथान को अवस्था बुझ्न उच्च स्तरिय सर्वपक्षिय समिति बनाउन माग गरेका छन् । 

थारु भाषाको संरक्षणका लागि आधारभुत तहमा थारु भाषाको पाठ्यक्रम पढाउन र नगरपािलकाका सरकारी कामकाजको भाषाको रुपमा सूचिकृत गर्न समेत समितिले माग राखेको छ ।