खोटाङः वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोवेलाका ५३ वर्षीय खगेन्द्रबहादुर सार्कीको परिवारलाई बीमाबापतको रकम उपलब्ध गराइएको छ ।
गत असोज ७ गते कतारको कनेक्टिङ कम्पनीमा काम गर्दै गर्दा ज्यान गुमाएका सार्कीको परिवारलाई आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार बीमाबापतको १४ लाख रुपैयाँ उपलब्ध गराएको हो ।
उनी वैदेशिक रोजगारीमा गएको ५ महिना मात्रै भएको थियो । सार्कीकी श्रीमती रामकुमारी सार्कीलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको सो बीमा कम्पनीका दिक्तेल शाखा प्रमुख नारायण रिजालले बताए ।
सार्कीलाई कम्पनीले क्षतिपूर्तिबापत ८० हजार रुपैयाँ उपलब्ध गराउने जानकारी दिएको छ । सार्कीको उच्च रक्तचापका कारण मृत्यु भएको कम्पनीले जनाएको छ ।