खोटाङः खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर १ दिक्तेलबारीमा रेमिट्यान्सको सदुपयोग हुन थालेको छ ।

वैदेशिक रोजगारीमा गएको व्यक्तिले पठाएको रेमिट्यान्स परिवारका सदस्यले सदुपयोग गर्न थालेका हुन् । विदेशमा दुःख गरी कमाएको रकमको महत्व बुझी घरैमा पनि आम्दानी बढाउन सकिने भन्ने जानकारी वित्तीय साक्षरता कक्षाबाट प्राप्त भएको स्थानीय बताउँछन् ।

वैदेशिक रोजगारीमा गएको परिवारका सदस्यलाई प्रदान गरिने २८ हप्ते वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि आम्दानीमूलक व्यवसाय शुरु गर्ने जाँगर पलाएको स्थानीय बताउँछन् ।

परिवार सञ्चालनसम्बन्धी जोखिम न्यूनीकरण र भोलिका दिनमा कसरी आर्थिक रूपले सम्पन्न बन्ने भन्ने विषयमा छलफल भएपछि सहकारी तथा वित्तीय संस्थामा बचत बढाएर जीवन बीमासमेत गरेको स्थानीय बताउँछन् ।

बाल सेवा समाज नेपाल नेर्पा खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको साझेदारीमा सञ्चालन गरिएको वित्तीय साक्षरता कक्षाले पूरै वडामा परिवर्तन आएको हो । सहभागीलाई टनेल, पाइप, हजारी, स्प्रिङकल र विभिन्न जातका तरकारीका बीउसमेत वितरण गरिएको बताइएको छ । ती सामग्रीलाई उपयोगमा ल्याएपछि झनै आम्दानी बढाउन सकिएको सहभागी बताउँछन् ।

सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत सञ्चालन गरिएको वित्तीय साक्षरता कक्षाबाट वित्तीय लक्ष्य निर्धारण हुनुका साथै वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उपायका बारेमा समेत छलफल गर्ने गरिएको बताइएको छ ।