इटहरीः स्वदेशी लघुवित्त वित्तीय संंस्थाले गत आर्थिक वर्षमा ३ करोड ७५ लाख ५१ हजार १ सय ६२ रुपैयाँ नाफा कमाएको छ ।
संस्थाको चौथो वार्षिक साधारण सभामा आयोजित कार्यक्रममा गत आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्दै सञ्चालक समिति अध्यक्ष लालमणि जोशीले सो जानकारी गराएका हुन् ।
अध्यक्ष जोशीका अनुसार ४२ वटा जिल्लामा ६६ शाखा कार्यालयमार्फत् संस्थाले काम गरिरहेको छ । गत आर्थिक वर्षसम्ममा संस्थाका ६१ हजार ७ सय ७३ जना सेयर सदस्य र बचत रकम ६२ करोड ९६ लाख ५१ हजार ३ सय १ रुपैयाँ रहेको जोशीले बताए ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाईले राखेका थिए । सामाजिक जनचेतनामूलक कार्यक्रम, वित्तीय साक्षरता, ग्राहकलाई सीपमूलक तालीमको व्यवस्था पनि संस्थाले गरिरहेको उनले बताए ।
वार्षिक साधारण सभामार्फत् सर्वसाधारणको तर्फबाट सञ्चालकमा सुवर्ण पौडेल छानिएका छन् । निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले पौडेल सञ्चालकमा छानिएको घोषणा गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका कम्पनी सचिव अशोक सुवेदीले गरेका थिए ।