विराटनगरः प्रदेश १ मा फोहोरबाट पेट्रोलियम पदार्थ निकालिने विषयमा सम्भाव्यता अध्ययन हुने भएको छ ।
भारत भ्रमणमा रहेका प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र मुम्बईमा फोहोरबाट पेट्रोलियम पदार्थ निकाल्ने विधिका विज्ञ वैज्ञानिक सुभाष दीक्षितबीच नेपालमा फोहोरको रूपमा उत्पादन हुने प्लास्टिकको वर्गीकरण पश्चात् प्रशोधन गरी निकालिने पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गर्ने समझदारी भएको हो ।
सम्भाव्यता अध्ययन भने भारतीय विज्ञको सहयोगमा एग्रो–प्रोसेसिङ केमिकलमार्फत् हुनेछ । भ्रमणका क्रममा मन्त्री घिमिरेले विभिन्न विषयविज्ञ तथा वैज्ञानिकहरूसँग छलफल गरेका छन् । सोही क्रममा मन्त्री घिमिरेले प्लास्टिकबाट इन्धन बनाउने उद्योगको समेत अवलोकन गरेका थिए । अवलोकन पश्चात् राष्ट्रकै चुनौतीको रूपमा रहेको फोहोरजन्य प्लास्टिकको विसर्जन र व्यवस्थापनका विभिन्न विकल्पका बारेमा उनले जानकारी लिएका छन् ।
यस्तै, विभिन्न किसिमका फोहोरको वर्गीकरण र व्यवस्थापनसम्बन्धी परियोजनाको अवलोकन गर्नुका साथै कुहिने फोहोरबाट बायोग्यास (मिथेन ग्यास) उत्पादन गर्ने विज्ञ एवं विश्व बैंकका बायोग्यास कन्सल्टेन्ट डा. सुवास नान्द्रेसँग सो विषयमा अन्तरक्रियाका साथै विभिन्न परियोजनाको अवलोकन गरिएको भ्रमण टोली सदस्य तथा अन्तर्राष्ट्रिय युवा समितिका नेपाल संयोजक राजकुमार कट्टेलले जानकारी दिए । भ्रमणका क्रममा महाराष्ट्रका पर्यटन व्यवसायीसँग समेत दुई देशबीच पर्यटन प्रवद्र्धन गर्ने विषयमा छलफल भएको छ ।
सो क्रममा त्यहाँका पर्यटन व्यवसायीले नेपालमा धार्मिक, प्राकृतिक, सांस्कृतिक, पुरातात्विक गन्तव्यको सम्भावना बढी रहेको भन्दै व्यवसाय विस्तार गर्ने इच्छा व्यक्त गरेको उनले जानकारी दिए ।
चालु आर्थिक वर्षभित्र प्रदेश सरकारको सहकार्यमा ५ वटा स्थानीय सरकारले सो प्रोजेक्ट शुरु गर्ने बताइएको छ ।