भोजपुरः विराटनगरबाट भोजपुरमा भइरहेको नियमित उडान २ साताअघिदेखि अवरुद्ध हुँदा हवाइ यात्रु मारमा परेका छन् ।
जाडोका कारण मौसममा खराबी आएपछि करीब १५ दिनबाट उडान हुन नसकेको नेपाल वायु सेवा निगम भोजपुर शाखले जनाएको छ ।
अब मौसममा सुधार आएपछि मात्र भोजपुर–विराटनगर उडान हुने निगमका भोजपुर सहायक स्टेशन प्रमुख राजु मिजारले बताए । निगमको जहाजले मङ्लबार, बिहीबार, शनिबार गरी हप्तामा ३ दिन विराटनगर उडान भर्दै आएको थियो ।
निगमले अपाङ्गता भएका व्यक्तिलाई भाडा ५० प्रतिशत, विद्यार्थीलाई २५ प्रतिशत छुट दिँदै आएकामा ज्येष्ठ नागरिकलाई पनि १५ प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ । भोजपुर–विराटनगर उडान अवरुद्ध भए पनि भोजपुर–काठमाडाँै भने आइतबारबाहेक हप्तामा ६ दिन उडान भइरहेको निगमले जनाएको छ ।