इटहरीः मोरङको सुन्दरहरैंचा– ५ मा रहेको प्रभात सांस्कृतिक समूहले देउसी खेलेर सङ्कलन गरेको रकमबाट सडकमा सौर्यबत्ती जडान गरेको छ ।

पूर्वपश्चिम राजमार्गको बलिया चोकबाट ५० मिटर उत्तरमा सौर्यबत्ती राखिएको समूहका अध्यक्ष भीम दाहालले बताए ।

देउसी खेलेर सङ्कलन भएको २० हजार ४ सय ६२ रुपैयाँमा रकम थपेर २५ हजार रुपैयाँमा बत्ती जडान गरिएको उनले बताए । दाहालका अनुसार सडकमा ८० वाटको प्यानल, २० वाटको लाइट र ४० एम्पियरको ब्याट्री राखिएको छ । जडानमा थप २ हजार खर्च भएको उनले बताए । अरुले देउसी खेलको पैसा फजुल खर्च र मनोरञ्जनमा सक्ने गरेको तर संस्थाले भने सामाजिक काममा लगाएर उदाहरणीय काम गर्ने सोच बनाएको दाहालले बताए ।

संस्थाका सचिव सुमन बास्तोलाका अनुसार सौर्यबत्ती जडानपछि १० घर प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । समाजमा हुने विकृतिको विरुद्धमा लाग्ने उद्देश्यले संस्था गठन गरिएको उनले बताए । संस्थाले केही समय अघि साहित्यिक कार्यक्रम पनि गरेको बास्तोलाले बताए ।