इटहरीः  प्रदेश नम्बर १ को प्रदेशसभामा ८ जना पुराना सांसद दोहोरिएका छन् । आगामी पाँच वर्षे कार्यकालका लागि प्रदेशका बहालवाला मुख्यमन्त्री राजेन्द्र राई र दुई मन्त्रीसहित आठजना पुराना सांसद दोहोरिएर निर्वाचित भएका हुन् ।

मुख्यमन्त्री राजेन्द्र कुमार राई भोजपुरको प्रदेशसभा निर्वाचन क्षेत्र (१) बाट विजयी भएका छन् । त्यस्तै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पाँचथरको प्रदेशसभा (२) बाट निर्वाचित भएका छन् ।

पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका नेकपा एमालेका हिक्मतकुमार कार्कीले झापा ५ को (२), एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी सोलुखुम्बु, न्याय प्रशासन तथा विधायन समितिका सभापतिसमेत रहेका धनकुटाका इन्द्रमणि पराजुली धनकुटा (२) र पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगर इलाम २ (२) बाट निर्वाचित भएका छन् ।

झापा २ (१) बाट एकराज कार्की र धनकुटा (१) बाट निरन राई दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । २०७४ मा स्वतन्त्र उमेदवार बनेर जितेका नारायणबुर्जा मगर यसपटक माओवादी केन्द्रबाट निर्वाचित भएका छन् । उनी उदयपुर २ (१) बाट विजयी भएका हुन् ।

को को छन् कांग्रेसका नयाँ अनुहार ?

ताप्लेजुङ १ (१) बाट तिलकुमार मेन्याङ्बो लिम्बू, ताप्लेजुङ १ (२) बाट खगेनसिंह हाङगाम, मोरङ ३(१) बाट मानबहादुर लिम्बू, मोरङ ४(२) बाट भीम पराजुली, उदयपुरको २(२) बाट रामकुमार खत्री, भोजपुर २ विनोद बान्तवा, मोरङ ५(२) अर्मत अर्याल, खोटाङ २ बाट भूपेन्द्र राई र ओखलढुंगा १ का प्रदीप सुनुवार नयाँ उमेदवारी दिएर विजयी भएका हुन् । दृष्टिबाट