विराटनगरः विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा १६ अर्ब ४० करोड ५२ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले दिएको जानकारी अनुसार सो अवधिमा १६ अर्ब १६ करोड २१ लाख ३० हजार राजस्व असुल गर्ने लक्ष्य थियो । २४ करोड ३० लाख ८८ हजार रुपैयाँ बढी राजस्व सङ्कलन भएको भन्सारले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५ प्रतिशत बढी
आर्थिक वर्ष २०७४÷७५ मा सो अवधिमा रु ११ अर्ब ३२ करोड ३२ लाख ४९ हजार राजस्व असुली भएको थियो । यस वर्ष सोही अवधिमा गत आर्थिक वर्षको भन्दा ४४ दशमलव ८८ प्रतिशत बढी राजस्व उठेको कार्यालयका प्रमुख मिमांश अधिकारीले बताए ।

राजस्व चुहावट हुन नदिन विशेष सतर्कता अपनाएको र भन्सार जाँचलाई पनि कडाइ गरेकाले राजस्वमा उल्लेख्य वृद्धि भएको उनले बताए ।

सङ्कलित राजस्वमा साउनमा २ अर्ब ९९ करोड ७५ लाख ३६ हजार, भदौमा ३ अर्ब ७ करोड ९० लाख ९ हजार, असोजमा ३ अर्ब ९७ करोड ६४ लाख ५० हजार, कात्तिकमा ३ अर्ब १५ करोड ८२ लाख ७० हजार र मंसिरमा ३ अर्ब १९ करोड ३९ लाख ५३ हजार सङ्कलन भएको बताइएको छ ।

विराटनगर भन्सारका अनुसार चालु आर्थिक वर्षको ५ महिनामा ६८ अर्ब २० करोड ७९ लाख ७४ हजारको सामान आयात र ८ अर्ब १९ करोड ६१ लाख ७९ हजारको सामान निर्यात भएको छ ।

सो अवधिमा गत वर्षमा ५२ अर्ब ४५ करोड ३ लाख सामान आयात हुँदा ९ अर्ब ६ करोड ९८ लाख ३६ हजारको सामान निर्यात भएको थियो ।

विराटनगर भन्सारबाट भारत तथा समुद्रपार निकासी हुने सामानमा सेन्थेटिक यार्न, बोरा झोला, जुटका बुनिएका कपडा, अलँैची, अन्य रेशाको कपडा, खजुरको प्रशोधित तेल, जीआइवायर, कोरुगोरेटेड सीट, जस्तापाता, कपर सीट र पिना छन् ।

भारत तथा समुद्रपारबाट विराटनगर भन्सारबाट नेपाल आयात हुने सामानमा पेट्रोलियम पदार्थ, एमएस विलेट, पोलिथिन दाना, स्टिल वायर रड इन क्वायल र एमएससम्म, सेन्थेटिक यार्न, सिआर सिट, एलपी ग्यास, तयारी कपडा, एच आर सिट र खाद्यान्न मकै छन् ।