दमकः प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशस्तरीय विश्वविद्यालय बनाउन प्रदेश सरकार प्रयत्नशील रहेको बताएका छन् ।

गौरीगञ्ज गाउँपालिकास्थित गौरीगञ्ज बहुमुखी क्याम्पसको २७ आँै वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले प्रदेशभित्रका पब्लिक क्याम्पसलाई शैक्षिक तथा भौतिक रूपमा व्यवस्थित गर्न प्रदेश सरकारले विश्वविद्यालय बनाउन लागेको जानकारी दिएका हुन् ।

प्रदेश नं १ मा ७० वटा पब्लिक क्याम्पस रहेको बताउँदै कार्कीले ती क्याम्पसमा देखिएका समस्या समाधान गरी त्यसलाई व्यवस्थित गर्न पहिलो पटक प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गर्न लागेको बताए ।

कार्यक्रममा क्याम्पस प्रमुख सर्वतलाल राजवंशीले आर्थिक वर्ष २०७४÷७५ को आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा क्याम्पसका विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरणका साथै क्याम्पसलाई जग्गादान दिने जग्गादातालाई पनि सम्मान गरिएको थियो ।

गौरीगञ्ज बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।