मनोज भुजेल
इटहरीः इटहरीका मेयर हेमकर्ण पौडेल दुई दिन यता रातको समयमा दैनिक ५ घण्टा रात्री गस्तीमा छन् । गस्तीका क्रममा सडकमा आश्रितहरूलाई उद्धार गर्नुको साथै रात्रि कालिन समयमा हुने विकृति तथा अपराध नियन्त्रण गर्न पौडेल गस्तीमा हिँड्ने गरेका छन् ।
सडकमा आश्रितहरूलाई पुनस्र्थापित गर्ने मुख्य अभियान सञ्चालन गरेका मेयरले दुई दिन यता मात्रै २६ जना सडकमा आश्रित मानवहरुलाई उद्धार गरिसकेका छन् ।
माया घर नेपालको समन्वयमा नागरिक समाज तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा सडकमा आश्रित मानवहरूलाई रातको समयमा उद्धार गरिँदै आएको छ । मेयर पौडेलको यो अभियानलाई चौतफी प्रशंसा गरिएको छ । मेयर पौडेलले सडकमा आश्रित मानवहरूलाई उद्धार गर्नु पछाडिको अर्को एउटा कारण इटहरीको अपराध नियन्त्रण पनि हो ।
इटहरीमा पछिल्लो ३ महिना यताको अपराधको तथ्याङ्कले पनि सडकमा आश्रित मानवहरू चोरी तथा लुटपाटको घटनामा संलग्न भएको देखिन्छ । पसलको सटरका साथै मान्छे नभएका घर फोड्नेदेखि विभिन्न अपराधीक क्रियाकलापमा यी सडकमा आश्रित मानवहरू कहीँ न कहीँ संलग्न हुँदै आएको प्रहरीको निष्कर्ष पनि छ । यस करण पनि मेयर पौडेल आफै नेतृत्व गरेर अहिले इटहरीमा गस्ती सञ्चालन गरिरहेका छन् ।
प्रहरी समेत रहने यो गस्तीका क्रममा रातको समयमा लागुऔषध कारोबार गर्नेहरू समेत फन्दामा परेका छन् ।
मङ्गलवार राती मात्र इटहरीको हलगडा नजिकै लागुऔषध सहित दुई जना युवा रंगेहात पक्राउ परेका थिए । साथै मापसे गरी होहल्ला गर्ने र रातको समयमा झैँ झगडा गर्ने कार्यहरू समेत नियन्त्रणमा लिन थालिएको छ । रातको समयमा सडकमा अलपत्र परेकाहरूलाई गन्तव्यमा पुराउने वा बस्नेको व्यवस्था मिलाइएको छ ।
साथै तेस्रो लिङ्गीहरुको कारण यौन विकृति तथा अन्य अपराध बढ्न सक्ने तर्फ समेत मेयर पौडेलले कडाइ गर्न थालेका छन् । रातको समयमा तेस्रो लिङ्गीहरु सडकमा आएर यौनजन्य विकृति गर्नेहरूलाई सडकमै मेयरले ‘काउन्सिलिङ र कारबाही’ गर्ने रणनीति बनाएका छन् ।
‘सुरुमा सम्झाई बुझाई गलत कार्य नगर्न भनेका छौ, दोस्रो पटक पनि उस्तै गरे कानुनी कारबाही गछौ भनेका छौ’ पौडेल भन्छन् , ‘स्थानीय सरकार इटहरीको जस्तो सुकै विकृति नियन्त्रण गर्न अब निर्मम बनेको छ ।’
सडक मानव र तेस्रो लिङ्गीहरुको कनेक्सन केही अपराधका घटनामा देखिएको मेयर पौडेलको बुझाई छ । गस्तीमा इटहरी वडा नं ९ का अध्यक्ष जितेन थापा, नागरिक समाजका अध्यक्ष राजु केसी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी हुँदै आएका छन् ।