ताप्लेजुङः  ताप्लेजुङको मैवाखोला गाउँपालिकामा गएराति ट्रयाक्टर दुर्घटना हुँदा दुई महिलासहित चारजनाको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका वडा नं ४ र ५ को सिमानास्थित याम्फेवा खोलामा उक्त ट्रयाक्टर दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको हो ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलास राईका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा ट्रयाक्टरका चालक मैवाखोला गाउँपालिका–५ फाकुम्बाका ३१ वर्षीय पासाङ शेर्पा, २४ वर्षीय फुर्वा शेर्पा, सोही गाउँपालिका वडा नं। ४ साँघुका २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीया लासी रहेका छन् ।

मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुको तेल्लाबुङदेखि फाकुम्बातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको बुझिएको प्रनाउ राईले जानकारी दिए । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ भने घटनास्थलतर्फ प्रहरी टोली गएको उनले बताए । ट्रयाक्टर दुर्घटना मगंलबार राति करिव १२ः३० बजेतिर भएको बताइएको छ ।