इटहरीः इटहरीका सडक मानवको उद्दारमा मेयर हेमकर्ण पौडेलसहितको उपमहानगरपालिकाको टोली सक्रिय भएको छ ।  इटहरी चोक तथा गल्लीहरुमा  बस्दै आएका उनीहरुको मध्यरातमा सुतिरहेकै ठाँउबाट उद्दार गरिएको सुरु गरिएको छ । 

बालबालिका, युवा तथा बृद्ध सडक मानवको उद्दार कार्य थालिएको हो । उनीहरुलाई मेयर पौडेल आफै रातभर इटहरीको गल्ली–गल्ली पुगेर उद्दार गरेका हुन । सडक मानवहरूलाई निरन्तर उद्धार गरिने र परिवारसँग पुर्नस्थापना गर्ने गरी अभियान थालिएको पौडेल बताउँछन् । सडकमानव मुक्त सहर बनाउने उद्देश्यसाथ यो अभियान थालिएको हो । 

सोमबार मध्यरातसम्म इटहरीको विभिन्न स्थानबाट १२ पुरुष सहित एक महिलाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले बताए ।  उद्धार गरिएका महिलालाई माया घर इटहरी र पुरुषहरुलाई मानव आश्रम विराटनगरमा पठाइएको छ । 

मेयर पौडेल सहित इटहरी ९ का वडाध्यक्ष जितेन थापा, नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी, इलाका प्रहरी, माया घर नेपालका प्रतिनिधि, बालबालिका खोज तथा उद्धार केन्द्रका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो ।