इटहरीः आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै जादा नेकपा माओवादी केन्द्रको भातृ संगठन थारु मुक्ति मोर्चाले इटहरीमा आइतबार वृहत भेलाको आयोजना गरेको छ ।
इटहरी १७ राजजानकी मन्दिरको सभाहलमा सम्पन्न भएको भेलामा ५ सय भन्दा बढी थारु कार्यकर्ताहरुको सहभागिता भएको थारु मुक्ति मोर्चा इटहरी नगरकमिटीका कोषाध्यक्ष दिप नारायण चौधरीले बताए ।
आसन्न मंसिर ४ गतेको निर्वाचनका लागि गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सुनसरी क्षेत्र नम्बर २ ‘क’ का लागि द्धारिकलाल चौधरीलाई जिताउन चुनावी अभियान अन्तर्गत वृहत भेलाको आयोजना गरिएको चौधरीले बताए ।
नेकपा माओवादी केन्द्रकी पोलिव्युरो सदस्य तथा पूर्व राज्यमन्त्री रामकुमारी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम गाउँ केन्द्रित विकासका कार्यक्रमहरु ल्याउँदा थारु केन्द्रित भयो भनेर द्धारिकलाल चौधरीको विरोध भएको बताइएको थियो ।
कार्यक्रममा बोल्दै इटहरी उपमहानगरका पुर्व नगरप्रमुख एंव सुनसरी क्षेत्र नम्बर २ ‘क’ का प्रदेश सभा सदस्य उम्मेदवार द्धारिकलाल चौधरीले आफु गाउँ केन्द्रित विकासमा लागेको बताएका थिए । ‘नगरको अनुभुति गाउँले गर्न पाउनुपर्छ भन्ने अभियान मेरो थियो । गाउँ केन्द्रित कार्यक्रमहरु गर्दा थारुहरुलाई मात्रै हेर्यो भन्ने विरोध भएता पनि गाउँमा शिक्षा स्वास्थ्यको अनुभुति गाउँको मान्छेले गनुपर्यो ।’ चौधरीले भने ।
कार्यक्रममा प्रमुख अतिथी रामकुमारी चौधरी, थारु मुक्ति मोर्चाका नेता दिनेश चौधरी, माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार भगवती चौधरी लगायतका मन्तव्य राखेका थिए । थारु मुक्ति मोर्चाका सचिव मिरेन्द्र चौधरीको सभापतित्वमा भएको कार्यक्रममा आसन्न निर्वाचनमा सम्पुर्ण थारु मुक्ति मोर्चामा आवद्ध थारुहरु एकजुट भएर आफ्नो उम्मेदवारलाई विजय गराउने भन्ने विषयमा केन्द्रित रहेको मुक्ति मोर्चाको तर्फको आसन्न निर्वाचनका संयोजक समेत रहेका दिप नारायण चौधरीले बताए ।