इनरुवाः सुनसरी क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार डा. खालिद हुसैन हकको उम्मेदवारीले नेपाली कांग्रेस र नेकपा एमाले दुबै पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई सकस हुने देखिएको छ । 

जनता समाजवादी पार्टी, नेपालले पार्टीको तर्फबाट सर्वसम्मत उम्मेदवारको रुपमा उनको नाम सिफारिस गरेपनि पार्टीले एमालेसँग चुनावी गठबन्धन गरेपछि उनको नाम सिफारिस भएको क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले टिकट पाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका हुन । 

सुनसरी क्षेत्र नम्बर ४ बाट जसपाका अधिकांश नेता कार्यकर्ताहरुसहित मनोनयन दर्ता गरेका उनलाई जसपाका रुष्ट कार्यकर्ताहरुको स्पष्ट समर्थन देखिन्छ । 

धरानमा अस्पताल सञ्चालन गरिरहेका  इनरुवा २ घर भएका डा। खालिद जसपाको राजनीतिक समिति सदस्यको जिम्मेवारीमा थिए । उनलाई पार्टीले दुई वर्ष अघिदेखि नै सुनसरी क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने गरी तयारी गरेको थियो । 

तर पार्टीले गठबन्धनका कारण टिकट नदिएपछि रुष्ट जसपाका स्थानीय नेता कार्यकर्तालाई लिएर उनी क्षेत्र नम्बर ४ मा उम्मेदवार बनेका हुन । 

उनको उम्मेदवारीपछि सुनसरी ४ का मतदाताहरुले उनले कसलाई घाटा र नाफा गर्छन भनेर जोडघटाउ सुरु भएको छ । 

डा.खालिदको सम्भावना

डा.खालिद सुनसरीका मुस्लिम समुदायका प्रतिष्ठित ब्यक्तित्व भएकोले उनको मुस्लिम समुदायमा राम्रो पकड छ । 

सुनसरी क्षेत्र नम्बर ४ मा मुस्लिम समुदायको बाक्लो बसोबास रहेको वा त्यो क्षेत्रको निर्वाचनमा मुस्लिम समुदाय निर्णायक शक्तिको रुपमा रहकोले उनलाई मुस्लिम समुदायको राम्रो समर्थन हुने सम्भावना रहन्छ । 

योसँगै जसपाका जिल्ला स्तरका प्रभावशाली नेताहरुले उनको चुनावी अभियानलाई सञ्चालन गरिरहेकोले मुस्लिम समुदायबाहेकका अन्य जसपाका नेता कार्यकर्ता र समर्थकहरुको समेत समर्थन हुँदा उनले मुस्लिम र अन्य समुदायको समर्थन हात पार्ने सम्भावनामा बलियो स्थिति देखिन्छ । 

अर्कोतर्फ सो क्षेत्रबाट दुई पटक संविधानसभामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अत्याधिक मतले जितेको कारण सो क्षेत्रमा जसपाको लिगेसी र संगठनसमेत मजबुद रहेको छ । 

त्यस्तै चिकित्सक, विद्धान सामाजिक ब्यक्तित्वका कारण पनि उनीप्रति समर्थन बढ्ने देखिन्छ । 

311017450_434802338759654_2584877981857567328_n

कांग्रेसलाई कति घाटानाफा ?

सो क्षेत्रबाट नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदमा वर्तमान सरकारका सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की उम्मेदवार बनेका छन । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन ।

उनको चुनावी अभियानलाई त्यहाँकै स्थानीय मुस्लिम नेताहरु हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी र कोशी गाउँपालिकाका अध्यक्ष अयूब अन्सारीले हाकी रहेका छन । 

कार्कीको पक्षमा मतदान गर्नेमा पनि प्रमुख रुपमा मुस्लिम समुदायकै मतदाताहरु रहेका छन । 

मुस्लिम समुदायको ठूलो समर्थन रहेका कार्कीको क्षेत्रमा सोही भोट बैंकमा स्वतन्त्र उम्मेदवार डा.खालिदको समेत छवी उच्च रहेकोले मुस्लिम भोट बाडिने स्थितिमा कार्कीलाई घाटा हुने स्थिति देखिएको जसपाका प्रस्तावित केन्द्रीय सदस्य दिलिप साह बताउँछन । 

एमालेलाई कति घाटानाफा ?

सो क्षेत्रमा यसअघिको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कार्कीसँग छ हजारभन्दा बढी मतको अन्तरले पराजित भएकोले सोही हाराहारीमा भोट रहेको जसपाको भोट एमालेको जितको आधार हो । 

तर एमालेसँग गठबन्धनमा रहेको जसपाका रुष्ट कार्यकर्ताहरु डा। खालिदको चुनावी अभियानमा रहेका कारण त्यसले जसपाभित्रको पनि केही भोटहरु काट्दा एमालेका उम्मेदवार जगदिश कुसियैतलाई प्राप्त हुने गठबन्धनको भोटमा पनि असर पर्न सक्ने स्थानीयहरुको विश्लेषण छ । 

यद्यपि प्रस्तावित केन्द्रीय सदस्य साह पार्टी गठबन्धनको पक्षमा रहेकोले रुष्ट केही नेता कार्यकर्ताकै कारण पार्टीको भोट बैंक प्रभावित नहुने दावी गर्छन । 

उनी भन्छन, ‘पार्टीले गठबन्धन गरेको छ । सो क्षेत्रमा हाम्रो पार्टीको उम्मेदवार पनि प्रदेश सभाको उम्मेदवार हुनु हुन्छ । त्यहाँ गठबन्धनमा दायाँबायाँ भए हाम्रो उम्मेदवारलाई पनि असर गर्ने भएकोले हामी त्यस्तो हुन दिदैनौ ।’